०२ असार २०८३, मंगलबार

दुई प्रदेशका सांसदबीच अनुभव साटासाट, सभामुख शाही भन्छन्- प्रदेशलाइ बलियो बनाउनुपर्छ

बैशाख ३०, २०७६
दुई प्रदेशका सांसदबीच अनुभव साटासाट, सभामुख शाही भन्छन्- प्रदेशलाइ बलियो बनाउनुपर्छ

सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सोमवार प्रदेश नम्बर पाँचका उपसभामुख सहितको टोली र कर्णाली प्रदेशका सभामुख सहितको टोलीबीच अनुभव आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा संघीयतालाई सफल बनाउन प्रदेशलाई बलियो बनाउनुपर्ने प्रदेशसभा सदस्यहरूको भनाइ छ । संघीयता कार्यान्वयनको मुख्य मेरुदण्ड प्रदेश भएकाले प्रदेशलाई बलियो बनाएर जानुपर्नेमा दुवै प्रदेशका सांसदहरूले सहमति जनाएका हुन् । ५ नम्बर प्रदेश र कर्णाली प्रदेशसभाको कार्यव्यवस्था परामर्श समितिको अनुभव साटासाट गर्ने क्रममा यस्तो बताएका हुन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले सबैले स्वाभिमान बचाउन एक अर्को प्रदेशले सहकार्य गर्नुपर्नेमा जोड दिए । ‘एक्ला एक्लै हिँडे गन्तव्यमा पुग्न सकिँदैन,’ उनले भने, ‘प्रदेश सरकारलाई जबसम्म बलियो बनाउन सकिँदैन तबसम्म संघीयता सफल रूपमा कार्यान्वयन गर्न सकिँदैन ।’ उनले संघीयतको रूप नै प्रदेश संरचना भएको बताए । संघीय व्यवस्थालाई नयाँ युग भएको भन्दै यसले गहन जिम्मेवारी दिएको उनको भनाइ छ । 

संघीयतालाई असफल बनाउन संघीयता विरोधीहरू लागिरहेको बताउँदै प्रदेश सरकार, प्रदेशका सबै संरचना विरोधीहरूलाई निरुत्तर पार्ने गरी काम गर्न र इमान्दारितापूर्वक जिम्मेवारी बहन गर्न लागि पर्नुपर्नेमा जोड दिए । उनले स्थानीय तहमा त्यति काम नहुने र संघीय सरकारसँग जनताको सहज पहुँच नहुने बताउँदै सभामुख शाहीले प्रदेश सरकार नै वास्तविक जनताको सरकार भएको दाबी गरे । 

अनुभव साट्नेक्रममा ५ नम्बर प्रदेशकी उपसभामुख कृष्णी थारुले अन्तरप्रदेशको कामकारवाही र अनुभव आदान प्रदान गर्ने उद्देश्यले आफूहरू कर्णालीमा पुगेको बताइन् । ‘यो एक वर्ष प्रदेश सरकारका लागि कानून निर्माण गर्ने वर्ष थियो,’ उनले भनिन्,‘कानूनी दौरानमा अघि बढ्दा कर्णालीमा भएको अनुभव र हाम्रो प्रदेशमा भएको अनुभव साटासाट गरौं र अहिले सबैजना सिक्ने र सिकाउने क्रममा भएको हुँदा केही हदसम्म सहज हुने विश्वाससहित यहाँ आएका छौं ।’

उनले कर्णाली प्रदेश र पाँच नम्बर प्रदेश सहकार्य गर्नुपर्ने बताउँदै आपसी हितका लागि प्रदेशसभा तयार रहेको बताइन् । ‘सबैभन्दा पहिले कर्णालीले राजधानी र प्रदेशको नामाकरण गरेर टुंगो लगाएको छ । त्यो विषय हाम्रा लागि सिक्ने अवसर पनि हुने छ,’ उनले भनिन् । 

कर्णालीका प्रदेश सांसद अर्थ लेखा समितिका सभापति रहेका दिनबन्धु श्रेष्ठले पनि संघीयता कार्यान्वयनमा अलमल देखिएको बताए । तीन वटै तहका सरकारबीच तालमेल नमिल्दा संघीयता कार्यान्वयनमा अलमल देखिएको बताए । ‘संघ, प्रदेश र स्थानीयविच तालमेल नमिल्दा संघीयता कार्यान्वयनमा अलमल देखिएको छ’ उनले भने, ‘प्रदेश जुन गतिमा अघि बढ्नुपर्ने थियो । त्यो गतिमा बढेको देखिँदैन । संघीयता सफल बनाउन प्रदेश बलियो बनाउन आवश्यक देखिन्छ ।’  पहिलोपटक आफ्नो अनुभव साट्न कर्णाली पुगेका प्रदेश ५ का सांसद दधिराम न्यौपानेले संघीयता कार्यान्वयन हतारमा भएको बताए । ‘संघीयता कार्यान्वयनलाई अर्थपूर्ण बनाउने भनेकै प्रदेश हो,’ उनले भने, ‘प्रदेश दृढतापूर्वक अघि बढे संघीयताको कार्यान्वयन सफल हुनेमा कुनै शंका छैन ।’ 

salt training

कमेन्ट गर्नुहोस्