०७ साउन २०८३, बिहीबार

जुम्ला जग्गा प्रकरण : ५ जना अख्तियारको नियन्त्रणमा, ११ जनालाई हाजिर हुन सूचना

जुम्ला जग्गा प्रकरण : ५ जना अख्तियारको नियन्त्रणमा, ११ जनालाई हाजिर हुन सूचना

काठमाडौं –जुम्लामा ५९० रोपनी सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिएकोसम्बन्धी विषयको अनुसन्धान अन्तिम चरणमा पुर्‍याएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

जिल्ला मालपोत कार्यालय जुम्लाका तत्कालीन प्रमुख मालपोत अधिकृत गोविन्दप्रसाद न्यौपानेले ५९० रोपनी जग्गा आफ्ना आफन्तको नाममा दर्ता गराएका थिए ।

‘जुम्लाको जग्गासम्बन्धी अनुसन्धान अन्तिम चरमा छ,’ अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले भने, ‘काजगपत्र हेर्ने, फिल्ड भिजिट गर्ने, सोधपुछ गर्ने लगायतका काम प्राथमिकताका साथ गरिरहेका छौं । चाँडै टुंगिन्छ ।’

अख्तियार स्रोतका अनुसार तत्कालीन मालपोत अधिकृत न्यौपानेसहित ५ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ । 

सो घटनामा संलग्न अन्य ११ जनालाई बयानका लागि उपस्थित हुन अख्तियारले सूचना जारी गरेको छ । ७ दिनभित्र उपस्थित हुन भन्दै सूचना जारी गरेको अख्तियारले अन्यथा कारवाही गर्ने उल्लेख गरेको छ ।

न्यौपाने हाल सेवानिवृत्त भइसकेका छन् । उनले जुम्लाको गुठीचौरस्थित राष्ट्रिय भेडाबाख्रा अनुसन्धान फार्मको ५९० रोपनी जग्गा आफ्ना १४ जना आफन्तको नाममा दर्ता गराएका थिए ।

अख्तियारले सूचनामा न्यौपानेपत्नी गोमा र छोरी पार्वतीसहित ११ जनालाई ७ दिनभित्र हाजिर हुन भनेको हो ।

कमेन्ट गर्नुहोस्