काठमाडौं – लोकसभा चुनावको परिणाम कांग्रेसका लागि अत्यन्तै निराशाजनक रहेको छ । अघिल्लो चुनावमा जम्मा ४४ सीट जितेको कांग्रेस यसपालि ५० सीटमा मात्र अघि रहेको छ ।
सत्तामा रहेको कर्नाटक, राजस्थान, मध्य प्रदेश र छत्तीसगढमा समेत कांग्रेस नराम्ररी परास्त भएको छ । अनि पूर्वी उत्तर प्रदेशमा प्रियंका गान्धी र पश्चिमी उत्तर प्रदेशमा ज्योतिरादित्य सिन्धियालाई व्यवस्थापन सुम्पिने फर्मुला पनि फ्लप भएको छ । कतिपय राज्य र केन्द्रशासित प्रदेशमा लगभग कांग्रेसमुक्त स्थिति छ ।
जम्मु कश्मीर
जम्मु कश्मीरमा कांग्रेसले निकै नराम्रो हार बेहोरेको छ । त्यहाँ कुल ६ सीटमध्ये तीनमा भाजपा अगाडि छ भने बाँकी तीन सीटमा नेसनल कन्फेरेन्सले जीत हासिल गर्ने देखिएको छ । कांग्रैसले एक सीट पनि नपाउने स्थितिमा पीडीपी पनि हारेको छ । पूर्व मुख्यमन्त्री महबूबा मुफ्तीले अनन्तनागको आफ्नो सीट पनि गुमाउने स्थिति छ ।
अन्डमान निकोबार
केन्द्रको शासन रहेको अन्डमान निकोबारको एक मात्र सीटमा भाजपा अग्रस्थानमा छ ।
आन्ध्र प्रदेश
दक्षिण भारतको महत्त्वपूर्ण राज्य आन्ध्र प्रदेशमा २५ लोकसभा सीट छन् । त्यहाँ २४ सीटमा वाइएसआर कांग्रेस अग्रस्थानमा छन् भने एक सीट टीडीपीको खातामा गएको छ । त्यहाँ पनि कांग्रेस पत्तासाफ भएको छ ।
अरुणाचल प्रदेश
चीनसँग जोडिएको यो पूर्वोत्तर राज्यमा दुवै सीटमा भाजपा जीतनजिक छ ।
बिहार
बिहारका १६ सीटमा भाजपाले अग्रता लिएको छ र जेडीयू पनि १६ सीटमा अघि छ । रामविलास पासवानको पार्टी एलजेपीले ६ सीट पाउने देखिएको छ । कांग्रेसले जम्मा एक सीटमा अग्रता लिएको छ र आरजेडी पनि जम्मा एक सीटमा अगाडि छ ।
चण्डीगढ
केन्द्र शासित प्रदेशको एक मात्र सीटमा भाजपाकी किरण खेर कांग्रेसका पवन कुमार बंसलभन्दा अघि छिन् ।
दादर यान्ड नागर हवेली तथा दमन दीवका एक एक सीटमा भाजपाको जीत भएको छ ।
गुजरात
मोदीको गृहराज्यमा भाजपाले फेरि एकपटक क्लीन स्वीप गरेको छ । उसले २६ सीटमै विजय हासिल गरेको छ । सन् २०१४ मा पनि यही भएको थियो ।
हरियाणा
हरियाणामा भाजपाकै सत्ता छ र लोकसभा चुनावमा पनि उसले कांग्रेसलाई बेइज्जती तवरले हराउँदै १० सीटमै विजय हासिल गरेको छ ।
हिमाचल प्रदेश
हिमाचल प्रदेशका चारै सीटमा भाजपा विजयी भएको छ । सने २०१४ मा पनि कांग्रेसले यहाँ एक सीट पनि जितेको थिएन ।
उत्तराखण्ड
उत्तराखण्डका पाँच सीटमा पनि भाजपा नै अगाडि छ ।
मध्य प्रदेश
मध्य प्रदेशमा कांग्रेसले विधानसभा चुनाव जितेको भए पनि लोकसभा चुनावमा उक्त प्रदर्शन दोहोर्याउन सकेन । राज्यका २९ सीटमा भाजपा विजयतर्फ अघि बढिरहेको छ र एउटा सीट मात्र कांग्रेसको खातामा गएको देखिन्छ । त्यो सीटमा कांग्रेसका वरिष्ठ नेता कमलनाथका छोरा नकुलनाथ उम्मेदवार छन् ।
महाराष्ट्र
महाराष्ट्रका ४८ सीटमा कांग्रेसले जम्मा एउटा सीट जित्ने लक्षण देखिँदैछ । त्यहाँ भाजपा २३ सीटमा अघिअघि छ भने शिवसेनाले १८ सीटमा अग्रता लिएको छ । कांग्रेसको गठबन्धन साझेदार एनसीपीले जम्मा तीन सीटमा अग्रता बनाएको छ ।
मणिपुर
मणिपुरका दुई सीटमा एकमा भाजपा र एकमा नागा पीपुल्स फ्रन्टले जीत हासिल गर्ने सम्भावना छ ।
मिजोरम
यहाँको एक मात्र सीटमा मिजो नेसनल फ्रन्टको जीतको लक्षण देखिएको छ ।
उडिसा
पूर्वी भारतमा भाजपाले सात सीटमा अग्रता लिएको छ भने १४ सीटमा सत्ताधारी पार्टी बीजेडी अगाडि छ । कांग्रेसले एक सीट पनि जितेको छैन ।
दिल्ली
राजधानी दिल्लीमा कांग्रेस र आम आदमी पार्टी दुवै बढारिने देखिएको छ । भाजपाले सातै सीट जित्ने लक्षण देखिएको छ ।
राजस्थान
राजस्थानका सबै सीटमा भाजपाले कांग्रेसको पत्तासाफ गरेको देखिएको छ । मुख्यमन्त्री अशोक गहलोतका छोरा वैभव जोधपुर सीटमा पछि छन् । भाजपा २४ सीटमा अघि छ भने उसको साझेदार राष्ट्रिय लोकतान्त्रिक पार्टी एक सीटमा अघि छ ।
सिक्किम
पूर्वोत्तर राज्य सिक्किमको एक मात्र सीटमा क्रान्तिकारी मोर्चा अघि छ ।
त्रिपुरा
यस राज्यको दुवै लोकसभा सीटमा भाजपा अघि छ ।
उत्तर प्रदेश
असी सीट भएको उत्तर प्रदेशमा कांग्रेस जम्मा एक सीटमा अघि छ । रायबरेलीमा सोनिया गान्धी अघि छिन् । त्यहाँ भाजपा ५९ सीटमा, एसपीमा ६ सीट र १२ सीटमा बीएसपी अघि छन् ।
पश्चिम बंगाल
राज्यको ४२ सीटमध्ये १९ मा भाजपाको अग्रता छ भने २२ सीटमा तृणमूल कांग्रेस अगाडि छ । कांग्रेस जम्मा एक सीटमा अघि छ ।
एजेन्सी