काठमाडौं – भारतमा लोकसभा चुनावको परिणाम सार्वजनिक भएपछि केही कीर्तिमानहरू बनेका छन् । केही कुराहरू पहिलोपटक भएको देखियो ।
भाजपाको ३०० भन्दा बढी सीट
भारतीय जनता पार्टीले पहिलोपटक ३०० भन्दा बढी सीट जितेको छ । सन् २०१४ को चुनावमा उसले २८२ सीट पाएको थियो र यसपालि उसले पुरानो रेकर्डमा सुधार गरिदियो । प्रधानमन्त्री मोदी र केन्द्र सरकारको कामका कारण भाजपाले राम्रो प्रदर्शन गरेको हो ।
बहुमतका साथ दोस्रो कार्यकाल
लोकसभा चुनावमा भाजपाको भव्य विजयपछि प्रधानमन्त्री मोदी पूर्ण बहुमतका साथ दोस्रोपटक सरकार बनाउँदैछन् । यस्तो उपलब्धि हासिल गर्ने मोदी देशका तेस्रा र पहिलो गैरकांग्रेसी नेता हुन् । यसअघि जवाहरलाल नेहरु र इन्दिरा गान्धीले यो उपलब्धि हासिल गरेका थिए ।
बंगालमा राम्रो प्रदर्शन
भाजपाले ममता बनर्जीको किल्ला भत्काए अनि टीएमसीको एकछत्र राजलाई ठूलो चुनौती दिए । बंगालका लागि भाजपाले पहिले नै नीति बनाएको थियो । यहाँ भाजपाले १८ सीट जित्दै ४०.३ प्रतिशत भोट पायो । अघिल्लो चुनावमा उसले जम्मा २ सीट जितेको थियो ।
खडगेको पहिलो हार
कांग्रेसका वरिष्ठ नेता मल्लिकार्जुन खडगेले पहिलोपटक चुनाव हारे । उनी पार्टीभित्र अपराजेय नेताका रूपमा हेरिन्थे । गुलबर्गा सीटमा उनलाई भाजपाका उम्मेदवार उमेश जाधवले हराए । उनी ९५ हजार ४५२ भोटले हारे ।
लालुको पार्टी शून्य
बिहारमा लालु प्रसाद यादवको पार्टी आरजेडीले एक सीट पनि जित्न सकेन । सन् १९९७ मा पार्टी गठबन भएपछि पहिलोपटक आरजेडीको सफाया भएको हो । बिहारका ४० सीटमध्ये ३९ मा एनडीए विजयी रह्यो भने किशनगञ्जमा कांग्रेसले जित्यो ।
१७ राज्यमा कांग्रेस शून्य
कांग्रेस पार्टीले कुल १७ राज्य र केन्द्रशासित क्षेत्रमा खाता पनि खोल्न सकेन । उत्तर प्रदेश र बिहारमा उसले जम्मा एक एक सीटमा चित्त बुझाउनुपरेको छ ।
पूर्व प्रम देवेगौडाको हार
पूर्व प्रधानमन्त्री तथा जेडीएएस प्रमुख एचडी देवेगौडा तुमकुर सीटबाट हारे । उनलाई भाजपाका जी बासवराजले १३ हजार ३३९ भोटले हराए ।
एजेन्सी