०८ साउन २०८३, शुक्रबार

नेपालकै नमूना आधुनिक प्रदर्शनी केन्द्र बुटवलमा बन्दै, ५ सय २५ रुख काटिने

जेठ १३, २०७६
नेपालकै नमूना आधुनिक प्रदर्शनी केन्द्र बुटवलमा बन्दै, ५ सय २५ रुख काटिने

बुटवल- बुटवलमा प्रत्येक वर्ष दुईदेखि तीन वटासम्म मेला/महोत्सवहरू आयोजना गरिन्छन् । निजी क्षेत्रले आयोजना गर्ने ती मेला/महोत्सवको लागि बनाउनुपर्ने अस्थायी संरचनामा हरेक वर्ष झण्डै ७० लाखदेखि एक करोड रूपैयाँसम्म खर्च हुने गर्छ । 

जसले गर्दा यहाँको ठूलो बालुवामा पानी हाले सरह खर्च हुने गर्‍थ्यो । तर अबको दुई वर्षपछि मेला महोत्सव गर्दा अस्थायी संरचनाका लागि लाखौं रूपैयाँ खर्च नहुने भएको छ । अब नेपालकै नमूना, सुविधासम्पन्न र ठूलो अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र बुटवलमा बन्ने भएको हो । बुटवल–१० रामनगरस्थित बुटवल मण्डपको ६ विगाहा चार कठ्ठा जग्गामा शहरी विकास मन्त्रालयले अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनी केन्द्र बनाउन शुरू गरेको छ । प्रदर्शनी केन्द्रको सोमवार नेकपा महासचिव तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले शिलान्यास गरे । 

एक अर्ब २ करोड रुपैयाँ लागतमा बन्ने प्रदर्शनी केन्द्र नेपालकै ठूलो र सुविधासम्पन्न हुनेछ । सहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक मनिराम गेलालले २७ महिनाभित्र अन्तर्राष्ट्रिय प्रदर्शनी केन्द्र निर्माण सम्पन्न हुने बताए । 

प्रदर्शनी केन्द्रमा आठ सय वटा स्टलहरू रहनेछन् । हरेक स्टल एकसय ४४ फूटको हुनेछन् । बाहिरबाट हेर्दा तीनवटा भवन देखिने गरी डिजाइन गरिएको प्रदर्शनी केन्द्रलाई आवश्यकताअनुसार अलग–अलग गर्न मिल्ने गरी बनाइने छ । 

एक पटकमा १० हजार जनाले अवलोकन गर्ने सक्नेछन् । प्रदर्शनी केन्द्रको भुइँमा इन्टरलक सिमेन्ट टायल बिछ्याइने हुँदा अब अवलोकनकर्ताले विगतमा जस्तो धूलोको समस्या झेल्नुपर्ने छैन । यस्तै ३६ हजार वर्गफिट क्षेत्रफललाई खुला प्रदर्शनी स्थल बनाइने छ । जसमा सवारी साधन र हेभी इक्युपमेन्टलगायत प्रदर्शन गर्न सकिने छ । 

यस्तै एक लाख १० हजार वर्गफिट क्षेत्रफलको बाल उद्यान, चार सय वटा चारपांग्रे र चार सय वटा मोटरसाइकल राख्न मिल्ने एक लाख २० हजार वर्गफिट क्षेत्रफलको पार्किङ क्षेत्र बनाइने आयोजना प्रमुख लामाले बताए । २ हजार क्षमताको भोजनालय समेत निर्माण हुनेछ । १ लाख १० हजार स्वायर फूटको चिल्ड्रेन पार्क र २० हजार क्षमताको खुला क्षेत्र रहनेछ ।

प्रदर्शनी केन्द्रमा चार सय ५० जना क्षमता र तीन सय जना क्षमताका दुई वटा सेमिनार हल, दुई हजार जना क्षमताको फूड कोर्ट (चमेनागृह र भोजनालय) र एउटा प्रशासनिक भवन बन्नेछन् । प्रदर्शनी केन्द्रमै मेशिनरी उपकरण भण्डारण, मर्मतका लागि तीन वटा वायर हाउससमेत बन्नेछन् । प्रदर्शनी केन्द्र परिसरमै गणतन्त्र स्मारक पनि बनाइनेछ । डिजाइन, क्षेत्रफल र हरियालीसहित बन्ने यो प्रदर्शनी केन्द्र देशकै नमूना र काठमाडौं बाहिरको पहिलो हुने गेलालले बताए । 

प्रदर्शनी केन्द्र निर्माणका लागि ५ सय २५ वटा रुख काट्नुपर्ने हुन्छ । ती रुखहरू भोलिदेखि नै काट्न शुरू गरिनेछन् । वन तथा वातावरण मन्त्रालयबाट वातावरणीय प्रभाव मूल्यांकन गराई रुख काट्ने अनुमतिसमेत बिहीवार प्राप्त भएकाले अब काम द्रुत गतिमा अघि बढ्ने आयोजना प्रमुख लामाले बताए । 

बुटवल सभाहल तथा प्रदर्शनी केन्द्र निर्माण कार्यान्वयन इकाइमार्फत प्रदर्शनी केन्द्र निर्माणको काम हुने छ । प्रदर्शनी केन्द्र निर्माणका लागि ‘ग्लोबल टेण्डर’ आह्वान भइ क्यापासिट इन्फ्रा प्रोजेक्ट्स (गौरी–पार्वती जेभी कम्पनी)ले ठेक्का लिइसकेको आयोजना प्रमुख शिखर लामाले बताए ।

निजी क्षेत्र उत्साहित

प्रदर्शनीस्थल निर्माण थालिएपछि रुपन्देहीका उद्योगी, व्यवसायी र नागरिकहरू उत्साहित छन् । बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष खिमबहादुर हमालले बुटवलमा बन्ने स्थायी संरचनाले यहाँको विकासमा ठूलो योगदान पुर्‍याउने बताए । ‘लाखौं रुपैयाँ अनुत्पादक खर्च त छँदैछ, मौसम प्रतिकूल हुँदा अस्थायी संरचना र स्टलमा राखिएका सामानहरूमा क्षति पुग्ने, अवलोकनकर्ताले पनि धूलोको सास्ती खेप्नुपर्ने हुन्थ्यो । प्रदर्शनी केन्द्र बनेपछि ती समस्याहरू झेल्नुपर्ने छैन,’ हमालले भने । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश नम्बर पाँचका सदस्य कृष्णकुमार श्रेष्ठले प्रदर्शनी केन्द्र बनेपछि बुटवलमा विकास अझै अगाडि बढ्ने बताए । 

salt training

कमेन्ट गर्नुहोस्