२४ जेठ २०८३, आइतबार

कर्णालीको राजधानी काकाकुल : ९६ घण्टा बिराएर आउँछ खानेपानी

जेठ १७, २०७६
कर्णालीको राजधानी काकाकुल : ९६ घण्टा बिराएर आउँछ खानेपानी

सुर्खेत – कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा पानी अभावमा काकाकुल स्थिति सिर्जना भएको छ ।

वीरेन्द्रनगरमा ९६ घण्टा बिराएर धारामा पानी आउँदा समस्या भएको सेवाग्राहीले गुनासो गरेका छन् ।

वीरेन्द्रनगरमा खानेपानी व्यवस्थापन गर्दै आइरहेको सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाले वितरण गर्दै आएको पानी आपूर्तिमा ५० प्रतिशतले कमी आएको छ । उपभोक्ताले ९६ घण्टा अर्थात् ४ दिनमा १ पटक पानी पाउने गरेका छन् ।

संस्थाले वितरण गर्ने पानीको मुख्यस्रोत झुप्राखोला मुहान सोलीघोप्टेमा पानी आधा घटेको छ । मुहानबाटै पानी आपूर्ति कम भएपछि वितरणमा समस्या भएको हो ।

विगतका वर्षभन्दा यो वर्ष मुहानबाटै कम पानी आपूर्ति गर्ने संस्थाका अध्यक्ष कुलमणि देवकोटा बताउँछन् । पानी अभाव बढ्दै गएपछि अध्यक्ष देवकोटाले पानीको संकट आएको बताउँदै चुनौतीको सामना गर्न उपभोक्तालाई आग्रह गरेका छन् । यो वर्ष विगतभन्दा धेरै खानेपानीमा समस्या भएको उनले बताए ।

‘सुख्खा खडेरीका कारण खानेपानीका स्रोतहरूमा झण्डै ५० प्रतिशतले ह्रास आएको छ,’ उनी भन्छन्, ‘उपत्यकामा खानेपानी संकटको अवस्था छ, सेवा प्रवाहमा कठिनाई र चुनौती देखिएका छन् ।’ यतिबेला माग अनुसारको खानेपानी आपूर्ति गर्न संस्थालाई हम्मेहम्मे परेको उनले बताए ।

‘झुप्रा खोला मुहानबाट वर्षायाममा प्रतिसेकेण्ड ८६ लिटर पानी आपूर्ति हुन्थ्यो । हाल प्रतिसेकेण्ड ४० लिटर मात्रै आपूर्ति हुने गरेको छ । गत वर्ष यो समयमा प्रतिसेकेण्ड ४८ लिटरसम्म पानी आपूर्ति भएको थियो,’ अध्यक्ष देवकोटाले भने, ‘विगतका वर्षभन्दा यो वर्ष स्रोतबाटै पानी कम आएको छ ।’  आयोजना शुरू भएयताका १९ वर्षमा झुप्राको मुहान यो वर्ष धेरै सुकेको उनले बताए ।

सुर्खेत उपत्यकामा हाल प्रतिदिन ८१ लाख ६४ हजार लिटर खानेपानी अपुग छ । उपत्यकामा खानेपानीको अर्काे स्रोत खरी–बोरी खोला मुहानबाट प्रतिसेकेण्ड ३० लिटर पानी आपूर्ति हुने गरेको छ । मुहानबाट भने खडेरीमा पनि पानी आपूर्तिमा कमी नआएको संस्थाले जनाएको छ ।

इत्राम खोलाबाट प्रतिसेकेण्ड ८ लिटर, खोर्केबाट ४ लिटर, बुलबुले तालबाट २ लिटर गरी संस्थाले प्रतिदिन ८४ लिटर प्रतिसेकेण्ड अर्थात् ७२ लाख ५७ हजार ६ सय लिटर पानी आपूर्ति गर्दै आएको छ । संस्थाको सेवा क्षेत्र सुर्खेत उपत्यकाका लागि प्रतिदिन १ करोड ५४ लाख लिटर खानेपानी आवश्यक छ ।

औसतमा हिउँदको समयमा १ करोड ३५ लाख लिटर र सुख्खा खडेरीमा न्यूनतम औसत ८६ लाख लिटर मात्रै खानेपानी उपलब्ध हुने गरेको संस्थाले जनाएको छ । ‘कर्णाली प्रदेशको राजधानी समेत रहेको सुर्खेत उपत्यकामा बढ्दो जनसंख्या र घट्दो पानीका स्रोतका कारण खानेपानीको संकट बढ्दै गएको छ । अब खानेपानीको दीर्घकालीन संकट टार्न उपत्यकामा भेरी नदीको पानी लिफ्ट गरेर ल्याउने विकल्प मात्रै बाँकी छ,’ अध्यक्ष भन्छन्, ‘अहिले १७ हजार धारामार्फत खानेपानी सेवा दिइरहेको संस्थाले साना तथा अल्पकालीन आयोजनाबाट उपत्यकाको खानेपानी समस्या हल हुने देखेको छैन ।’

संस्थाले भेरी नदीको पानी नै दीर्घकालीन समस्या समाधानको एक मात्र विकल्प ठानेको छ । हरेक वर्ष गर्मीयाममा उपत्यकाबासीले खानेपानीको समस्या झेल्दै आएका छन् । मुहानबाट पानीको आपूर्ति घटेपछि संस्थाले १ महिनायता समानुपातिक वितरणका लागि ‘फ्लो सेडिङ’ तालिका लागू गरेको छ । सुर्खेत उपत्यकामा ९६ घण्टा ‘फ्लो सेडिङ’ हुने गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्