
बुटवल- समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले मुलुकको समृद्धि अब कांग्रेस र कम्युनिष्टबाट सम्भव भएको बताएका छन् । उनले देशको विकास अब सामाजवादी पार्टीले मात्र गर्न सम्भव हुने बताए । उनले भने, ‘कांग्रेस र कम्युनिष्ट ब्राण्डका पार्टीबाट देशमा सुशासन र समृद्धि हुन सक्दैन । जनताले यस्ता ब्राण्डका पार्टीहरुबाट देशमा आमूल परिवर्तन हुन नसक्ने बुझिसके । अब समाजवादी पार्टीबाट मात्र देशको विकास सम्भव छ ।’
समाजवादी पार्टी प्रदेश नम्बर ५ समितिद्वारा शुक्रबार भैरहवामा आयोजित प्रादेशिक अभिमुखीकरणको क्रममा आएका डा. भट्टराईले सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै दुईतिहाईको सरकारले पेश गरेको दुई वटा बजेटबाट आमुल परिवर्तन, आर्थिक सामाजिक रुपान्तरण तथा औद्योगिक क्रान्ति सफल हुन नसक्ने पुष्टि भएको बताए ।
मुलुकमा एकपछि अर्को गर्दै भ्रष्टाचारको सीमा नाघेकोले मुलुकमा कुनै पनि ढंगले शुशासन कायम हुन नसकेको दावी गरे । उनले बुढीगण्डकी प्रकरण, बाइडबडी प्रकरण जस्ता काण्डले पनि त्यसको पुष्टी गरेको बताए । जनताले न्यायको अनुभुति गर्न नसकेको उनको भनाइ थियो ।
‘सबैलाई चादिएको समृद्धि हो । संघीयताले देशमा दिगो शान्ति ल्याउँछ समृद्धितर्फ जान्छ, जहाँसम्म संघीयताले मुलुकलाई धान्न सकिदैन भन्ने कुरा गलत हो,’ उनले भने । हिजो राजामहाराजाहरुले शासन गर्दा कुनै हिसाब नखोज्ने तर अहिले स्थानीय तहले लाख मूल्यका गाडी किने भनेर गलत सोच्न नहुने भट्टराईको तर्क थियो ।