
काठमाडा– रुकुम (पूर्व) र नवलपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ ।
रुकुम (पूर्व) सिस्ने गाउँपालिका–७ स्थित सिस्नेरीमा रा.१ त २१४८ नम्बरको ट्याक्टर शनिबार दिउँसो दुर्घटना हुँदा ट्याक्टर सवार जाजरकोट छेराघाट गाउँपालिका बस्ने ३३ वर्षका भिम बहादुर खत्रीको मृत्यु भएको हो ।
उक्त ट्याक्टर आफैँ अनियन्त्रित भएर सडकबाट करिब १ सय ५० मिटर तल खसेर भएको दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सल्ले रूकुम (पश्चिम) तर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
यस्तै नवलपुर कावासोती नगरपालिका–८ स्थित सडकमा लु.१ ख ६७४७ नम्बरको ट्रकको ठक्करबाट शनिबार बेलुका गम्भीर घाइते भएका पैदलयात्री सोही नगरपालिका टरुवा बस्ने ५० वर्षका बम बहादुर श्रेष्ठको काली गण्डकी अस्पताल हुँदै थप उपचारको लागि पुरानो मेडिकल कलेज भरतपुर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।