२९ असार २०८३, सोमबार

अक्सफोर्डमा प्रधानमन्त्री ओलीको सम्बोधनपछि सीके राउतको प्रवचन !

जेठ २४, २०७६
अक्सफोर्डमा प्रधानमन्त्री ओलीको सम्बोधनपछि सीके राउतको प्रवचन !

जनकपुरधाम - प्रधानमन्त्री केपी शर्मा ओली यही जेठ २५ गतेबाट साताव्यापी युरोप भ्रमण जाने कार्यसूची बाहिरिएको बेला कुनै समय विखण्डनकारीको आरोप लागेका र हाल जनमत पार्टीका अध्यक्ष डाक्टर चन्द्रकान्त राउत (सीके राउत) पनि युरोप भ्रमण जाने चर्चा चुलिएको छ । संयोग कस्तो छ भने बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा आयोजना हुने कार्यक्रमलाई दुवैले सम्बोधन गर्नेछन् ।

तर सम्बोधनको मिति भने फरक फरक रहेको जनमत पार्टीका केन्द्रीय सदस्य चन्दन सिंहले बताए । प्रधानमन्त्री केपी शर्मा ओलीको छुट्टै विदेश भ्रमण रहेको तथा एक साथ् कार्यक्रम समेत नरहेको भन्दै सिंहले भने, ‘प्रधानमन्त्री ज्यू १० जुनमा अक्सफोर्डमा उपस्थित हुनुहुनेछ भने राउत १९ जुनमा ।’ सिंहले राउत प्रधानमन्त्रीसँग नजाने पुष्टि गरे । राउत एक्लै विदेश भ्रमणमा जाने र जनमत पार्टीका अन्य कुनै पनि नेता उनीसँगको भ्रमणमा सहभागी हुने कार्यक्रम नरहेको समेत उनले प्रष्टयाए ।

सीके राउतले भियानाको एक विश्वविद्यालयमा समेत प्रवचन गर्ने कार्यक्रम रहेको छ । १२ जुनमा राउतले भियानाको 'भियाना विश्वविद्यालय'मा मानव अधिकार र भगवान गौतम बुद्धको विचारबारे वक्ता भएर सम्बोधन गर्ने कार्यक्रम रहेको सिंहले बताए । भगवान गौतम बुद्धले दिएको विचार सम्यक क्रान्ति र अष्टांग मार्ग विषयमा प्रवचन दिने कार्यक्रम रहेको छ ।

त्यस पछि राउतले त्यस विश्वविद्यालयका विद्यार्थीहरूसँग पनि अन्तरक्रिया कार्यक्रम गर्ने छन् । विगतमा स्वतन्त्र मधेश गठबन्धनको नेतृत्व गर्दा पनि राउतले गौतम बुद्धलाई आदर्शको रुपमा चित्रण गरेका थिए । बुद्धसँगै उनले आफ्नो गठबन्धनमा नेल्सन मन्डेला र महात्मा गान्धीलाई आदर्शको रुपमा चित्रण गर्ने गरेका थिए ।

भियानापछि राउत १९ जुनमा बेलायतको अक्सफोर्ड विश्वविद्यालयमा समेत लेक्चर दिने कार्यक्रम रहेको छ । त्यस विश्वविद्यालयमा स्थानीय समय १२ बजेदेखि २ बजेसम्म उनले आफ्नो विचार राख्ने कार्यक्रम रहेको छ । नेपालको वर्तमान राजनीतिक अवस्था, नेपालमा मानव अधिकारको अवस्था आदि विषयमा आफ्नो विचार राख्ने कार्यक्रम तय भएको सिंहले बताए ।

मूलधारको राजनीतिमा आएपछि राउत पहिलो पटक विदेश भ्रमणमा जान लागेका हुन् । राउत विगतमा पनि हार्वर्ड विश्वविद्यालयमा प्रवचन दिइसकेका छन् । उनले लण्डनकै क्याम्ब्रिज विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् ।

सप्तरी महादेवा ७ घर भएका राउत पछिल्लो केही वर्षदेखि जनकपुरधाममा बसोबास गरिरहेका छन् । उनले  प्राथमिक शिक्षा गाउँकै  विद्यालयबाट हासिल गरेका थिए । सप्तरीबाट एसएलसी पास गरेका उनले उनले काठमाडौंको  पुल्चोक क्याम्पसबाट ब्याचलर इन इलेक्ट्रोनिक  इन्जिनियरिङ गरेका थिए ।

त्यसपछि जापानको टोकियो यूनिभर्सिटीबाट 'मास्टर्स इन इन्फरमेशन साईन्स एण्ड टेक्नोलोजी' र सोपश्चात बेलायतस्थित क्यामब्रीज यूनिभर्सिटीबाट इन्फर्मेसन इन्जिनियरिङमा विद्यावारिधि (पिएचडी) गरेका हुन्  ।

विदेशमा रहँदा उनी गैर आवासीय मधेशी संघका संस्थापक अध्यक्ष समेत भइसकेका व्यक्ति हुन् । विखण्डनको बाटो छोडेर मूलधारमा आइसकेपछि पहिलोपटक युरोप भ्रमणमा जान लागेका राउत केका लागि जान खोजेका हुन् भन्ने चासो बढेको हो ।

salt training

कमेन्ट गर्नुहोस्