०७ साउन २०८३, बिहीबार

भारतीय विमानस्थलबाट नेपाल फर्किन दिइएन, मुख्य न्यायाधिवक्ताले दिए राजीनामा

भारतीय विमानस्थलबाट नेपाल फर्किन दिइएन, मुख्य न्यायाधिवक्ताले दिए  राजीनामा

 काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशमा रहेका हरेक समस्या समाधानको बाटो खोजेर अगाडि बढेको बताएका छन् । 
  प्रधानमन्त्री स्वरोजगार कार्यक्रमको शुक्रबार उद्घाटन गर्दै उनले हरेक समस्याको समाधान पहिल्याउँदै सरकार अगाडि बढेको स्पष्ट गरे।  प्रधानमन्त्री ओलीले भने, “रोजगारीका लागि विदेशमा ४० लाख युवा भौँतारिरहेका छन्,सरकार समाधानको बाटो खोजेर अगाडि बढेको छ, यो कार्यक्रम त्यसैको एउटा नमूना हो ।”
     
    काम नपाएर अब कोही पनि नेपाली विदेशिनु नपर्ने बताउँदै उनले सबैलाई देशमै रोजगारी दिइने उल्लेख गरे ।

  प्रधानमन्त्री ओलीले राष्ट्र निर्माणको महान् अभियानको एउटा दृष्टान्तका रूपमा प्रधानमन्त्री रोजगार कार्यक्रम शुरु भएको बताउँदै देशमा अब कोही पनि भोकै बस्नुपर्ने र भोकले मर्नुपर्ने अवस्थाको अन्त्य हुने बताए । 
 प्रधानमन्त्रीले प्रत्येक प्रदेश, नगर र गाउँपालिकालाई डिजिटलमय बनाउँदै ‘डिजिटल नेपाल’ बनाइने बताए । 


    सरकारले बालकदेखि ज्येष्ठ नागरिकसम्मको जीवन सुरक्षाको कार्यक्रम सञ्चालन गरेकाले अब कसैलाई समस्या नपर्ने बताउँदै उहाँले सरकारले शुरु गरेको महान् अभियानदेखि आत्तिएर केही प्रतिक्रियावादी तत्व सक्रिय रहेको धारणा व्यक्त गरे । 

प्रधानमन्त्री ओलीले दुई सय ४० वर्ष देशलाई अँध्यारामा राख्ने राजतन्त्र फेरि चाहियो भन्नेको पनि अब केही नलाग्ने बताए । 
  कार्यक्रममा प्रधानमन्त्री ओलीले कटुञ्जेको सवुर्ण चोकदेखि तीनधारा जाने सडक निर्माणको शुभारम्भ गर्दै कार्यक्रमसँग आबद्ध युवालाई साबेललगायत उपकरण हस्तान्तरण गरेका थिए । 
        
    प्रमको युरोप भ्रमण शनिबारदेखि 
    
प्रधानमन्त्री केपी शर्मा ओली आपसी सम्बन्ध थप सुदृढ बनाउन र नेपालले अहिले लिइरहेको समृद्धिको बाटोबारे अवगत गराउन युरोपेली देशका तीन मुलुकको औपचारिक भ्रमणका लागि शनिबार साँझ त्यसतर्फ प्रस्थान गर्दै छन् । 
 छिमेकी मुलुकसँगको सम्बन्धमा बढी केन्द्रित भइरहेको नेपालको वैदेशिक नीति र सम्बन्धलाई त्यसभन्दा बाहिरसम्म फैलाउने नेपाल सरकारको नीतिअनुसार प्रधानमन्त्री ओली युरोपेली मुलुकतर्फ जान लागेका हुन् ।
 संयुक्त राष्ट्र सङ्घका स्थायी सदस्य बेलायत र फ्रान्समा नेपालका तर्फबाट लामो अवधिपछि हुन लागेको यो उच्चस्तरीय औपचारिक भ्रमणको विशेष महत्व हुनेछ ।
घुस लिएको अभियोगमा सव इञ्जिनीयर पक्राउ 

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले माडी–लुङ्ग्र्री–करिडोर सिँचाइ आयोजना, रोल्पामा कार्यरत सव इञ्जिनीयर तारा श्रेष्ठलाई रु एक लाख घुससहित पक्राउ गरेको छ ।
 
    योजनाको अन्तिम बिल भुक्तानी गर्दा सव इञ्जिनीयर श्रेष्ठले घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । आयोगका सहसचिव कालीप्रसाद पोखरेलेका अनुसार आरोपी श्रेष्ठको थप अनुसन्धान भइरहेको छ । 

    आयोगले सशस्त्र प्रहरी बल, नेपाल, ११ नं गण, हजमिनिया, रौतहटमा कार्यरत सशस्त्र प्रहरी जवान अरूण झालाई रु ३० हजार घुससहित पक्राउ गरेको छ । नेपाल भारत सीमाबाट कस्मेटिक सामान ल्याउन सहज गराइदिने भन्दै जवान झाले सेवाग्राहीसँग घुस मागेको आयोगले जनाएको छ ।

    आरोपी सशस्त्र प्रहरी जवान झाको थप अनुसन्धान भइरहेको छ । त्यस्तै इलाका प्रहरी कार्यालय रन्यौरा, रूपन्देहीमा कार्यरत प्रहरी निरीक्षक केशवबहादुर बस्नेतलाई रु १५ हजार घुससहित पक्राउ गरेको छ ।
 
    मुख्यमन्त्रीको स्वास्थ्य अवस्थाबारे जानकारी

    गृहमन्त्री रामबहादुर थापाले काठमाडौँको बाँसबारीस्थित शहीद गङ्गालाल हृदय रोग उपचार केन्द्रमा उपचाररत प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्  ।

सो क्रममा पौडेलले स्वास्थ्यमा उल्लेख्य सुधार भएको र केही दिनमै घर फर्कने जानकारी गराएको गृहमन्त्रीको सचिवालयले जनाएको छ ।

    मुटुको भल्बमा समस्या देखिएपछि अस्पतालमा उनको मुटुको ‘एन्जिओप्लाष्ट’ गरिएको छ । 

उपत्यकामा सवारी दुर्घटनामा २२२ को मृत्यु 

    काठमाडौँ उपत्यकामा सवारी दुर्घटनाका कारण २२२ जनाको मृत्यु भएको छ । 

    महानगरीय ट्राफिक प्रहरी महाशाखाले दिएको जानकारी अनुसार चालू आर्थिक वर्षको हालसम्ममा २२२ जनाको मृत्यु भएको हो । चालू आर्थिक वर्षको वैशाख मसान्तसम्म २११ र जेठ महीनामा मात्र ११ जनाले सवारी दुर्घटनामा परी ज्यान गुमाएका छन् । मृत्यु हुनेमा १७७ पुरुष र ४५ महिला रहेका छन् । 

    
काँग्रेस कार्यकर्तालाई एक हुन सभापति देउवाको आह्वान  

    नेपाली काङ्ग्रेसका सभापति  शेरबहादुर देउवाले  काङ्ग्रेसका सबै कार्यकर्तालाई एक भएर पार्टी एकतामा अघि बढ्न आह्वान गरेका छन् ।   काङ्ग्रेस ललितपुरले शुक्रबार आयोजना गरेको एकमहिने राष्ट्रिय जागरण अभियानको समापन गर्दै सभापति देउवाले काङ्ग्रेसका कार्यकर्ता एक भएर अघि बढेमा सफलता प्राप्त गर्ने विश्वास व्यक्त गरे । 

नीति तथा कार्यक्रम पारित

    सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा प्रस्तुत गरेको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम पारित भएको छ । शुक्रबार बसेको प्रदेशसभाको बैठकले आगामी आवको सो नीति तथा कार्यक्रम बहुमतले स्वीकृत गरेको हो ।
 
    यही जेठ १९ गते सुदूरपश्चिम प्रदेश सरकारले आगामी आवको नीति तथा कार्यक्रम प्रदेशसभामा प्रस्तुत गरेको थियो । नीति तथा कार्यक्रममाथि भएको छलफलमा उठेका प्रश्नहरूको जवाफ दिँदै मुख्यमन्त्री त्रिलोचन भट्टले छफलमा उठेका उपयुक्त सुझावलाई नीति तथा कार्यक्रममा समेट्ने प्रतिबद्धता व्यक्त गरे । 


हिन्दी सम्पर्क भाषा बनाउने प्रयास आपत्तिजनक

    प्रदेश २ को सरकारद्वारा हिन्दी भाषालाई सम्पर्क भाषाका रूपमा विकास गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गरिएकामा प्रतिपक्षी नेकपाका प्रदेशसभा सदस्यले आपत्ति जनाएका छन् ।

    आर्थिक वर्ष ०७६÷०७७ का लागि प्रदेश सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफलमा उनीहरुले सरकारले मैथिली, भोजपुरीलगायतका भाषाको संरक्षण नगरी हिन्दी भाषाको विकास गर्ने नीति तथा कार्यक्रम प्रस्तुत गर्नु मैथिली, भोजपुरीलगायतका भाषालाई कमजोर तुल्याउने मनसाय भएको बताए ।

    नीति तथा कार्यक्रममा एकातिर मातृभाषामा पढाउने अर्कोतिर हिन्दी भाषालाई सम्पर्क भाषाका रूपमा विकास गरिने उल्लेख गर्नु विरोधाभास र संविधान विपरित भएको धारणा उनीहरुले राखे ।

 नेकपाका प्रदेशसभा सदस्य किशोरी साह, मञ्जु यादव, सुन्दर विश्वकर्मा र दिलीपकुमार साहले सरकारको मैथिली र भोजपुरीलगायतका भाषालाई विस्थापित गर्ने नीति धरातलीय यथार्थभन्दा पृथक रहेकाले आफ्नो दल हिन्दी भाषालाई सम्पर्क भाषाका रूपमा विकास गरिने नीतिविरूद्ध रहेको स्पष्ट गरे ।

    
    विज्ञापन रद्द कि स्थगित !
    
लोकसेवा आयोगले निजामती कर्मचारी भर्नाका लागि गरेको पछिल्लो विज्ञापन स्थगित वा रद्द गर्ने विषयमा सत्तापक्ष सांसदबीच मतैक्यता नभएपछि संसदीय समितिको निर्णय प्रक्रिया नै प्रभावित भएको छ ।

    लोकसेवा आयोगद्वारा स्थानीय तहको कर्मचारी भर्नासम्बन्धी हालै प्रकाशित विज्ञापनबारे राज्यव्यवस्था तथा सुशासन समितिमा भइरहेको छलफलमा विज्ञापन समानुपातिक र समावेशीताको सिद्धान्त विपरित रहेको भन्नेमा समितिमा एकमत रहे पनि अब कुन प्रक्रिया अपनाउने भन्नेमा सत्तापक्ष सांसदबीच नै मत बाँझिन पुगेको हो ।

    उक्त विज्ञापनको विषय संसदमा प्रवेश गरेपछि समितिले यसबारे स्पष्ट पार्न सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितलाई बैठकमा आमन्त्रण गरेको थियो । मन्त्री पण्डित उपस्थित नभएपछि समितिको बैठक शुक्रबार तीन पटक स्थगित गरियो । बैठकमा यो विषयलाई मन्त्रीले बेवास्ता गर्नुभएको समितिका केही सदस्यहरूले आरोप पनि लगाए । 

    समितिको साँझ ७ बजे बसेको वैठकमा सभापति शशी श्रेष्ठले भनन्,ि “विज्ञापन संविधानको मर्म र भावना विपरित छ भन्नेमा सदस्यबीच एउटै मत देखिए पनि प्रक्रियामार्फत अघि बढने भन्ने विषयमा फरक धारणा छ, आगामी २७ गतेको बैठकमा पनि मन्त्री उपस्थित हुनुभएन भने एकमतले  रद्द वा स्थगन जे भए पनि निर्णय गरौँला ।”

    भनले भनिन्, “हामीले सरकारसँग मुठभेड गर्ने होइन, संसद र जनताप्रति उत्तरदायी र जिम्मेवार बनाउन खोजेका हौँ ।” बैठकमा सांसदहरू जनार्दन शर्मा, पम्फा भूषाल, वृजेशकुमार गुप्ता, यशोदा गुरुङ, राजेन्द्र श्रेष्ठले संविधान र सङ्घीयता विपरितका क्रियाकलापलाई समितिले पन्छाएर जानुपर्ने बताए ।

    
    यही जेठ १५ गते लोकसेवा आयोगले करिब नौ हजार एक सयभन्दा बढी कर्मचारी भर्नाका लागि विज्ञापन गरेको थियो । उक्त विज्ञापनमा समावेशी र समानुपातिक सिद्धान्तलाई बेवास्ता गरिएको तथा प्रदेश कानून बनाएर प्रदेश लोकसेवामार्फत भर्ना गर्नुपर्ने कर्मचारी किन सङ्घीय लोकसेवामार्फत भर्नाका लागि विज्ञापन खोलियो भन्ने टिक्का टिप्पणी र आलोचना हुँदै आएको छ । उक्त विषयमा जानकारी लिन समितिले मन्त्रीलाई बोलाएपनि उपस्थित भएका छैनन् । 

सडकमार्गबाट भारत गएकालाई हवाइमार्गबाट फर्कन दिइएन
तीर्थाटन, व्यापारलगायत प्रयोजनले भारत पुगेर शुक्रबार स्वदेश फर्कँदै गरेका ११ नेपालीलाई नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलले उड्न रोक लगाएको छ ।
तीमध्ये एक जना नेपाल वायु सेवा निगम र १० जना भुटान एयरबाट काठमाडौं फर्कँदै थिए । विमानस्थल अधिकारीहरुले बस वा ट्रेनमा आउँदा फर्कँदा पनि त्यसरी नै फर्कनुपर्ने भन्दै विमानमा जान नदिएको पीडितले बताए । यो खबर आजको कान्तिपुर दैनिकमा छापिएको छ । 
 

    
मुख्य न्यायाधिवक्ताद्वारा राजीनामा

     प्रदेश ३ का मुख्य न्यायाधिवक्ता सूर्यचन्द्र न्यौपानेले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री डोरमणि पौडेल अस्वस्थ्य भई उपचार गराइरहेका बेला उनले राजीनामा दिएका हुन् ।

    न्यौपानेले प्रमुख सचिव आनन्दराज ढकालमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा बुझाएको बताए ।

    पदमा रहँदा स्वतन्त्रपूर्वक काम गर्ने आफ्नो आदतअनुसार काम गर्न नपाएकाले र बाँधिएर काम गर्नुपर्ने बाध्यताका कारण पदबाट राजीनामा दिएको उनको भनाइ छ ।

    मुख्य न्यायाधिवक्ताको राजीनामा प्रदेश प्रमुखले स्वीकृत गर्ने कानूनी व्यवस्था छ । 

कमेन्ट गर्नुहोस्