१२ असार २०८३, शुक्रबार

दुर्घटनाबाट जोगियो वायु सेवा निगमको विमान, सत्यतथ्य बुझेर कारवाही गर्छौं: प्राधिकरण

दुर्घटनाबाट जोगियो वायु सेवा निगमको विमान, सत्यतथ्य बुझेर कारवाही गर्छौं: प्राधिकरण
फाइल फोटो

काठमाडौं – काठमाडौंबाट दिल्लीका लागि उड्न लागेको नेपाल वायु सेवा निगमको जहाज दुर्घटनाबाट जोगिएको छ ।

आइतवार बिहान काठमाडौंबाट दिल्लीका लागि उड्न लागेको वायु सेवा निगमको ३२०–२०० जहाज दुर्घटनाबाट जोगिएको हो । शुरूमा इन्टर्नल रिफ्रेन्स सिस्टम (आईआरएस) सुचारू नगरीकनै उड्न लागेको जहाज आईआरएस सुचारू नगरेको थाहा पाएपछि दुर्घटनाबाट जोगिएको विमानस्थलका एक कर्मचारीले जानकारी दिए ।

‘सुरूमा आईआरएस सुचारू नगरेरै उडेको रहेछ’ विमानस्थलका ती कर्मचारीले भने, ‘पार्किङवेबाट रनवेतर्फ जाँदा शुरूमै आईआरएस सुचारू गर्नु पर्छ । पछि एक्कासि थाहा पाएपछि जहाज रोकेर आईआरएस सुचारू गरियो र दुर्घटना हुन पाएन ।’

जहाज उडान हुनुभन्दा अघि पार्किङवेमै ककपिटमा चालकदलका सदस्यहरूले एयर रुट तथा पोजिसन लगायतका इक्वीपमेन्ट सुचारू  गर्ने प्रक्रिया आईआरएस हो । ती कर्मचारीका अनुसार आईआरएस सुचारू गर्नका लागि करीब १० मिनेट समय लाग्छ । जहाजमा चालक दलका सदस्यसहित १ सय ५० जना यात्रु रहेका थिए ।

यता हवाई सेवा प्रदायकहरूको नियमन गर्दै आएको नेपाल नागरिक उड्ड्यन प्राधिकरणले सत्यतथ्य बुझेर कारवाही प्रक्रिया अघि बढाउने प्रतिक्रिया दिएको छ ।

प्राधिकरणका प्रवक्ता त्रिलोचन पौडेलले विमानस्थलमा के भएको हो भन्ने कुरा बुझ्न नपाइएको र त्यसको बारेमा सत्यतथ्य बुझेर आवश्यक कारवाही प्रक्रिया अघि बढाइने बताए । ‘विमानस्थलमा के भएको हो ? त्यसको सत्यतथ्य बुझेर आवश्यक कारवाही अगाडि बढाउने नै छौं,’ पौडेलले भने, ‘आज बिदाको दिन भएर पनि छिटो बुझ्न सकिएन ।’
 

salt training

कमेन्ट गर्नुहोस्