०३ साउन २०८३, आइतबार

लोकसेवाको विज्ञापन रद्द गर्ने निर्णय विवादमा तानियो, मन्त्री सवार गाडी दुर्घटना

लोकसेवाको विज्ञापन रद्द गर्ने निर्णय विवादमा तानियो, मन्त्री सवार गाडी दुर्घटना

 काठमाडौँ–प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिले स्थानीय तहमा विभिन्न पदका लागि लोकसेवा आयोगले प्रकाशन गरेको विज्ञापन रद्द गर्ने निर्देशन निर्णय कानूनसम्मत नभएको बताइएको छ । कर्मचारी समायोजन ऐन २०७५ विपरीत समितिले स्थानीय तहको विज्ञापन रद्द गर्ने निर्णय गरेको हो । 
    
    कर्मचारी समायोजन ऐन २०७५ को दफा १२ मा ‘प्रदेश वा स्थानीय तहको सेवाको पदपूर्ति प्रदेश लोकसेवा आयोगले गर्ने छ तर प्रदेश लोकसेवा आयोग गठन नभएसम्मका लागि सम्बन्धित प्रदेश वा स्थानीय तहले मन्त्रालयमार्फत लोकसेवा आयोगमा अनुरोध गरी पठाउनुपर्ने छ’ भनी उल्लेख गरिएको छ । 

    गाउँपालिका राष्ट्रिय महासङ्घका अध्यक्ष होमनारायण श्रेष्ठले लोकसेवा आयोगद्वारा गरिने विज्ञापनले स्थानीय तहमा केही कर्मचारी पदपूर्ति हुने भएकाले केही राहत हुने तर रोकिएकाले ती कर्मचारी नआउने भई सेवा प्रवाहमा असर पर्ने बताए ।  संविधानको धारा २४४ मा सातवटै प्रदेशमा प्रदेश लोकसेवा आयोग गठन गर्ने व्यवस्था छ । 

    अहिले सङ्घीय संसद्ले प्रदेश लोकसेवा आयोगको ऐनका लागि कानून बनाई आधार र मापदण्ड बनाई पठाएको छ । सोहीअनुसार अहिले प्रदेश नं २ र प्रदेश नं ५ ले प्रदेश लोकसेवा आयोग ऐन पारित गरेका छन् । अहिले प्रदेश लोकसेवा आयोग गठन गरी नसकेको अवस्थामा लोकसेवा आयोगले नै स्थानीय तहको पदपूर्तिका लागि विज्ञापन गर्न पाउने कानूनी व्यवस्थाविपरीत समितिले विज्ञापन रद्द गर्ने निर्देशन दिएको हो । 

    सङ्घीयता कार्यान्वयनका लागि स्थानीय तहमा कर्मचारी पदपूर्तिका लागि गरिएको विज्ञापन रद्द गर्नुले जनताको सेवामा प्रभाव पर्ने भएको छ । पूर्वसचिव शारदाप्रसाद त्रितालले समितिले स्थानीय तहका लागि गरिएको विज्ञापन रोक्न निर्देशन दिनु गलत भएको बताए । 

    आयोगले स्थानीय तहका लागि विज्ञापन गरेदेखि नै समावेशी नभएको भन्दै विरोध हुँदै आएको थियो । आयोगले भने स्थानीय तह एउटा सरकार भएकाले कुनै एउटा स्थानीय तहमा एक जनाका लागि गरिएको विज्ञापनमा समावेशी कोटा निर्धारण गर्न नसक्ने धारणा सार्वजनिक गर्दै आएको थियो । सरकारले लोकसेवा आयोगमार्फत स्थानीय तहमा रिक्त दरबन्दी पदपूर्तिका लागि यही जेठ १५ गते ५१५ स्थानीय तहका लागि नौ हजार १६१ पदका लागि विज्ञापन गरेको थियो । 
यसैबीच सर्वोच्च अदालतमा लोकसेवा आयोगको स्थानीय तहका विभिन्न पदमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन संविधानको भावनाविपरीत भएको उल्लेख गर्दै रिट निवेदन दायर गरिएको छ । 

    लोकसेवा आयोग केन्द्रीय कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लगायतलाई विपक्षी बनाई अधिवक्ता विकासकुमार ठाकुरले दायर गरेको रिट निवेदनमा स्थानीय तहका विभिन्न सेवा समूहका अप्राविधिक, प्राविधिकतर्फ पदको खुला तथा समावेशी विज्ञापन संविधानको भावनाविपरीत भएको उल्लेख छ ।
      
पाँच प्रतिशतभन्दा कम मूल्यवृद्धि 

    अर्थमन्त्री डा युवराज खतिवडाले आगामी आर्थिक वर्षमा पाँच प्रतिशतभन्दा कम मूल्यवृद्धि हुने बताएका छन् । आर्थिक वर्ष २०७६÷७७ को राजश्व र व्ययको आर्थिक अनुमान (बजेट) माथिको सामान्य छलफलका क्रममा राष्ट्रियसभाका सांसदहरुले उठाएको विषयको जवाफ दिँदै उनले नेपाल जस्तो मुलुकमा पाँच प्रतिशतभन्दा तलको मूल्यवृद्धि सामान्य नै हुने बताए ।

    चालू आवको आर्थिक वृद्धिदर सात प्रतिशतभन्दा माथि हुने अनुमान गरिएको मन्त्री खतिवडाले बताए ।  सबै प्रदेशमा छ प्रतिशतभन्दा बढी वृद्धिको अनुमान गरिएको उनले बताए ।  सातै प्रदेशको आर्थिक वृद्धिदर बढी नै भइरहेको मन्त्री खतिवडाले बताए । 

घुस लिएको अभियोगमा मुद्दा दायर 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाँके राप्तीसोनारी गाउँपालिका–१ लामीडाँडा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्षविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 

    आयोगका अनुसार उक्त वन उपभोक्ता समितिका अध्यक्ष टीकाराम कामी र कोषध्यक्ष दीपक खुनाले सामुदायिक वनको काठ लिलामीमा कोटेशन दर्ता गरी सहज तवरले काठ उपलब्ध गराइदिने भन्दै सेवाग्राहीसँग रु पाँच लाख बराबर घुस माग गरेको आरोप लागेको छ । साल, सिसौलगायतका काठ र दाउरा लिलाम बिक्रीका लागि भएको बोलपत्र फर्म दर्ता गरिदिने र बोलपत्रसमेत पारिदिने भनी घुस माग गरेको पाइएको आयोगले जनाएको छ । 
चन्दका कार्यकर्ता कारागारमा

    नेत्रविक्रम चन्द नेतृत्व समूहका तीन कार्यकर्तालाई भीमफेदी कारागारमा चलान गरिएको कारागारले जनाएको छ । चन्द समूहका मकवानपुरका इञ्चार्ज वीरबहादुर घलानसहित प्रहरीले पक्राउ गरेका अन्य दुई कार्यकर्तालाई विभिन्न समयमा जिल्ला अदालत मकवानपुरले कारागार पठाएको हो ।

    घलानलाई जिल्ला अदालत मकवानपुरले गत जेठ १३ गते कारागार पठाएको थियो । जिल्ला न्यायाधीश धु्रवकुमार पियाको एकल इजलाशले रु २५ हजार धरौटी लिइ उनलाई तारेखमा छोड्न आदेश गरेको भए पनि घलानले सो धरौटी रकम नतिरेपछि कारागार पठाइएको हो ।


यातायात अवरुद्ध गरेकाले बल प्रयोग : गृहमन्त्री थापा

    गृहमन्त्री रामबहादुर थापाले आइतबार माइतीघर मण्डलामा गुठी विधेयकको विरोधमा प्रदर्शन गर्नेले सडकमा सुतेर सार्वजनिक यातायात अवरुद्ध गरेकाले प्रहरीले बल प्रयोग गर्न बाध्य हुनुपरेको बताएका छन् ।

    राष्ट्रियसभाको सोमबारको बैठकमा सार्वजनिक महत्वको वक्तव्य दिँदै उनले पानी प्रयोग गरेर नियन्त्रण गर्न खोज्दा पनि भीड सडकमै रहेकाले सामान्य बल प्रयोग गरी चार जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएरपछि छोडिएको बताए । 


नेपाली रेललाई कोलकातासम्म पहुँच 

    नेपाली रेललाई कोलकाता/हल्दियादेखि विराटनगर र वीरगञ्जसम्म कार्गो ढुवानीका लागि दुईतर्फी सञ्चालन गर्न दिन भारतले सहमति दिएको छ ।

यही जेठ २३ र २४ गते भारतको नयाँ दिल्लीमा सम्पन्न नेपाल र भारतबीच रेल सेवा सम्झौताको तेस्रो विस्तृत पुनरावलोकन बैठकमा भारतीय पक्षले नेपाली रेललाई दुईतर्फी सञ्चालन गर्न सहमति दिएको हो । 

    बैठकका निर्णयबारे जानकारी दिन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सचिव केदारबहादुर अधिकारीले पारवहन सन्धिमा सहमति भएअनुसार विराटनगर र भैरहवा नाकाबाट समेत रेलमार्फत ‘बल्क कार्गो’ ढुवानी गर्न पाउने गरी रेल सेवामा आवश्यक संशोधन गर्ने सहमति भएको जानकारी दिए । 


मन्त्री सवार गाडी दुर्घटना

     भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ सवार गाडी अर्जुनचौपारी गाउँपालिका–३ घट्टेको रह दरौँ खोलामा सोमबार दुर्घटनामा परको छ । मन्त्री महासेठ भने सकुशल छन् । 
    अर्जुनचौपारी गाउँपालिकास्थित शहरे खोला पुलको शिलान्यास गरेर फर्कने क्रममा मन्त्री महासेठ सवार बा२झ ४०२९ नं को गाडी चिप्लिएर खोलामा आधा डुबेको थियो । गाडीबाट सुरक्षाकर्मीको सहायतामा मन्त्री महासेठलाई सकुशल बाहिर निकालिएको थियो । गाडीलाई क्रेनको सहायताले बाहिर निकालिएको प्रहरी नायब उपरीक्षक नविकृष्ण भण्डारीले जानकारी दिए । 

मनसुन एक साता ढिलो भित्रिने 
यस वर्ष मनसुन एक साता ढिलो भित्रिने भएको छ । नेपालमा मनसुन जुन १० का दिन भित्रिनुपर्नेमा एकसाता ढिलो गरी भित्रिने भएको महाशाखाका मौसमविद् मीनकुमार आर्यालले बताए ।  “मनसुन भित्रिनका लागि जुन खालको वातवरण हुनुपर्ने हो त्यो बनिसकेको छैन विस्तारै बन्ने क्रममा छ ।” उनले भने ।

मनसुन प्रवेश गर्नका लागि स्थानीय हावाभन्दा पनि मनसुनी हावाको प्रभाव बढी हुनुपर्छ तर अहिले स्थानीय वायुको प्रभावले दिनभर घाम लाग्ने तथा बिहान, बेलुका र रातिको समयमा मेघ गर्जनसहित वर्षा भइरहेको छ । 

नेपालमा मनसुन भित्रिनका लागि दक्षिण पूर्वी हावा बङ्गालको खाडीबाट वायुमण्डलको तल्लो सतहदेखि करीब छ किलोमिटर माथिसम्म मनसुनी हावा प्रवेश हुनुपर्छ तर अहिले वायुमण्डलको तल्लो सतहमा मात्र त्यस्तो हावाको प्रवेश देखिएको छ । माथिल्लो सतहसम्म पुगेको छैन् । जलवाष्युक्त हावाको वायुमण्डलको माथिल्लो सतहसम्म प्रभाव कायम रहेमा मनसुन शुरु हुने मौसमविद् आर्यालले जानकारी दिए । 

salt training

कमेन्ट गर्नुहोस्