
काठमाडौं – कैलाली–कञ्चनपुरमा आएको भीषण हावाहुरीपछि अवरुद्ध विद्युत् सेवा सूचारु गर्न माग गर्दै राष्ट्रिय सभा सदस्यहरूले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुन ‘अनन्त’सँग भेटवार्ता गरेका छन् ।
सुदूरपश्चिमबाट राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने सांसदहरू महेशकुमार महरा, चक्र स्नेही र हरिराम चौधरी ‘उत्सव’ले मन्त्रीलाई भेटेर यथाशीघ्र विद्युत् सूचारु हुने व्यवस्था मिलाउन माग गरेका हुन् ।
सांसदको कुरा सुनेपछि मन्त्री पुनले तत्कालै नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कूलमान घिसिङलाई निर्देशन दिँदै आवश्यक बन्दोबस्त मिलाउन भनेका छन् । भीषण हावाहुरीले ठूलो क्षति गर्दा समेत संघीय सरकारले कुनै प्रतिक्रिया र राहतको सुनुवाइ नगरेको भन्दै राष्ट्रियसभा सदस्यले असन्तुष्टि व्यक्त गरेका छन् ।
धेरै दिनदेखि विद्युत् अवरुद्ध हुँदा कैलाली–कञ्चनपुरमा धेरै समस्या देखिएका छन् । विद्युत् नहुँदा मोटरबाट पानी तान्ने ठाउँमा खानेपानीको अभाव भएको छ भने जथाभावी खानेपानी प्रयोग गर्दा जनस्वास्थ्यमा प्रतिकूल असर परिरहेको छ ।
मन्त्री पुनको निर्देशनपछि कार्यकारी निर्देशक घिसिङले विद्युत्का क्षेत्रीय प्रबन्धकसँग छलफल गरेर आवश्यक प्रबन्ध मिलाउने जनाइएको छ । जनशक्ति अभावमा का मगर्न समस्या भइरहेको भए दैनिक ज्यालादारीमा थप कर्मचारी भर्ना गरेर भएपनि यथाशीघ्र विद्युत् सेवा सूचारु हुने मन्त्रीले प्रतिवद्धता जाहेर गरेका छन् ।