१० साउन २०८३, आइतबार

लागूऔषध कारोबारी गिरोह नरहेको दाबी, प्रहरीले बढायो सक्रियता

जेठ ३१, २०७६
लागूऔषध कारोबारी गिरोह नरहेको दाबी, प्रहरीले बढायो सक्रियता

काठमाडौं – लागूऔषध प्रयोग गर्ने तरिकामा पछिल्लो समय परिवर्तन आएको प्रहरीले जनाएको छ ।

विगत ५–७ वर्षअघि लागूऔषध चरेश, हेरोइन, कोकिनजस्ता लागूऔषधको निकै नै प्रयोग गर्ने गरेको लागूऔषध नियन्त्रण व्यूरोका वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) वसन्त लामाले बताए तर अहिले पूरानो अवस्था फेरिएको छ ।

आजकल ‘फर्मासिटीकल’ लागूऔषध ट्याबलेट, सूइँ, एम्फेटामाइन, मेटाफिनजस्ता लागूऔषध प्रयोगकर्ता बढी रहेको एसएसपी लामाले बताए ।

‘पहिला–पहिला सांगठनिक रुपमै लागूऔषध बिक्री गर्ने गिरोह नै सक्रिय हुने गरेको थियो तर अहिले भने त्यस्ता गिरोहहरू छैनन्, अहिले लागूऔषध प्रयोगकर्ताले स–साना परिणाममा आफैं ल्याउने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ,’ लामाले भने ।

अघिल्लो वर्षभन्दा १ लाख बढी बरामद

अघिल्लो वर्षभन्दा फर्मासिटीकल लागूऔषध १ लाख ३८ हजार ८ सय ६५ वटा बढी बरामद गरिएको छ । सन् २०१७ को तथ्यांकलाई हेर्ने हो भने ब्रुपिनोफाइन ३१ हजार ५ सय ६७ वटा, डाइजापाम ४९ हजार ३ सय ४ वटा र अन्य लागू औषध १ लाख ८१ हजार २ सय ३ वटा बरामद गरिएको प्रहरीले जनाएको छ । 

सन् २०१८ को तथ्यांक हेर्दा ब्रुपिनोफाइन ५८ हजार ९ सय ६३ वटा, डाइजापाम ६६ हजार ४ सय ३० वटा, र अन्य लागूऔषध २ लाख ७५ हजार ५ सय ४६ वटा बरामद गरिएको छ ।

फर्मासिटीकल लागूऔषध प्रायः सबैजसो खुला सीमाना भएका कारणले भारतबाट भित्रिने गरेको एसएसपी लामाले लोकान्तरलाई बताए । ‘नेपाल–भारत सीमाना खुला छ । भारतमा औषधि पसलमा विना प्रेसक्रिप्सन विना नै पाइन्छ । मोटरसाइकलमा राखेर ल्याएको पाइन्छ । बोर्डरमा चेकजाँज गर्ने संयन्त्र छैन,’ उनले भने ।

भारतमा लागूऔषध कारोबार खुलेआम भएकाले नेपालमा पूर्णरुपमा नियन्त्रण गर्न नसकिने बताउँदै लामाले भारतले नियन्त्रण गरे मात्र नेपालमा नियन्त्रण गर्न सजिलो हुने बताए ।

के गर्दैछ प्रहरी ?

नेपालका काँकडभिट्टा, विराटनगर, वीरगञ्ज, भैरहवा, नेपालगञ्ज, पोखरा र काठमाडौंसहित ७ ठाउँमा मातहत कार्यालयले निगरानी गरिराखेको एसएसपी लामाले लोकान्तरलाई बताए । 

ब्यूरोले लागूऔषध कारोबार अभियोगमा सन् २०१७ मा नेपाली पुरुष ३ हजार ६ सय ३९, महिला १ सय ९३, भारतीय १ सय २४ र अन्य देशका १५ जना गरी ३ हजार ९ सय ४१ जनालाई पक्राउ गरेको छ । सन् २०१८ मा नेपाली पुरुष ४ हजार ५ सय ३६, महिला १ सय ९५, भारतीय १ सय ५६ र अन्य देशका ११ जना गरी ४ हजार ८ सय ९८ जना पक्राउ परेका छन् ।

‘हामीले पहिलेभन्दा कडाइ गर्दै लगेका छौं, अझ लाग्ने छौं,’ लामाले भने, ‘सामुदायिक प्रहरी अभियानमार्फत पनि समाजमा विभिन्न कार्यक्रम गरिरहेका छौं । यसले पनि समाजमा चेतनाको स्तरलाई बढाउँछ र आगामी दिनमा लागूऔषध नियन्त्रणमा सहयोग पुग्ने विश्वास छ ।’

कस्ता फसेका छन् दुर्व्यसनीमा ?

बढ्दो सूचनाको पहुँचले गर्दा युवायुवती विलासी जीवन बिताउने सपना देख्छन् । अझ १६ वर्षदेखि २५ वर्षसम्मका किशोरकिशोरीलाई नयाँ चिजको स्वाद लिन मन लाग्ने भएकाले पनि दुर्व्यसनीमा फस्ने गरेको एसएपी लामाले बताए ।

‘सूचना प्रविधिको विकास यति छिटो छ कि नजिकका टाढा र टाढाका नजिक भएका छन् । यसले गर्दा किशोरकिशोरीमा केही नयाँ गरौं भन्ने भावना जाग्छ, जसका कारणले दुर्व्यसनीमा फसेका छन्,’ उनले भने ।

salt training

कमेन्ट गर्नुहोस्