
एजेन्सी- १२ औं संस्करणको क्रिकेट विश्वकप इंग्ल्याण्डमा जारी छ । यसैबीच भारत र पाकिस्तानको खेल म्यानचेस्टरको वल्ड ट्रेफर्डको मैदानमा खेलाइनेछ ।
यी दुई छिमेकी देश भएपनि क्रिकेटमा 'चिर शत्रु'को रूपमा लिइन्छ । त्यसैले यी दुईको भिडन्त रोमाञ्चक नै हुनेछ ।
भारत र पाकिस्तानबीचको खेलका लागि टिकटको चरम अभाव भयो । त्यहाँ टिकटको कालोबजारी पनि भइरहेको छ ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार एउटा टिकटको मूल्य ६० हजार भारुसम्ममा किनबेच भइरहेको छ ।
२० हजार दर्शकको क्षमता रहेको वल्ड ट्रैफर्ड रंगशालामा हुने म्याचका लागि टिकट खुलेको केही घण्टामै सबै बिकेको थियो ।
शुरूमा टिकट किन्नेहरूले अहिले भारी नाफा कमाइरहेका छन् । शुरूमा टिकट किन्नेहरूले अहिले महंगोमा बेच्न थालेका छन् ।
केही टिकटलाई वेबसाइट वियागोगो डट कमले पुन: बेचेको छ । वियागोगोका अनुसार उनीहरूसँग पुन: बिक्रीका लागि ४८० वटा टिकट थियो र त्यसमा ब्राउन्ज, गोल्ड, प्लेटिनम र सिल्वर क्याटगोरीका थिए ।
वेबसाइटका अनुसार ब्राउन्ज र सिल्वर क्याटगोरीका टिकट सबै बिकिसके । तिनीहरूको मूल्य १७ हजारदेखि २७ हजारसम्मका थिए । तर वेबसाइट आफूहरूले उक्त टिकट कतिमा किनेको भने खुलाएको छैन ।
शुक्रवारसम्म ५८ गोल्ड र ५१ प्लेटिनम क्याटगोरीका टिकट उपलब्ध थिए, जसको मूल्य ४७ हजार भारुदेखि ६२ हजार भारुसम्म राखिएको थियो ।