
बाजुरा- जिल्लाको बूढीगङ्गा नगरपालिकास्थित टाँटे स्वास्थ्यचौकी अब अस्पतालमा स्तरोन्नति भएको छ ।
यो स्वास्थ्यचौकीलाई अस्पतालमा स्तरोन्नति गर्ने सरकारको निर्णयसंगै यसलाई १५ श्ययाको अस्पताल बनाउने निर्णय गरेको बूढीगङ्गा नगरपालिकाका प्रमुख दीपकविक्रम शाहले बताए ।
'स्वास्थ्यचौकीको स्तरोन्नोतिका लागि लामो समयदेखि पहल गर्यौं,' बूढीगङ्गा नगरपालिकाका स्वास्थ्य संयोजक दीपक शाहले भने, 'धेरै पटक काठमाडौं धायौं, अहिले अस्पताल बनाउन सफल भयौं ।'अस्पताल बन्ने भएपछि बाजुराको तल्लो क्षेत्रका नागरिकलाई ठूलो सहयोग पुग्ने उनको भनाइ छ । यो भेगमा अस्पताल नहुँदा अहिले पनि छिमेकी जिल्ला अछामको बयलपाटा अस्पताल पुग्नुपर्ने बाध्यता छ ।
पहाडी जिल्लाको हकमा नमूना स्वास्थ्यचौकीको रूपमा टाँटे स्वास्थ्यचौकी रहेको जिल्ला स्वास्थ्य कार्यलय बाजुराले जनाएको छ । विसं २०२० मा स्थापना भएको टाँटे स्वास्थ्यचौकीमा हाल प्राथमिक स्वास्थ्य केन्द्रले दिने सेवा सञ्चालन गर्दै आएको छ ।
स्वास्थ्यचौकीले दिने सेवाभन्दा आकस्मिक रुक्तसञ्चार सेवा, एक्सरे सेवा, इर्मेजेन्सी सेवा, ल्याव सेवा र बिरामी भर्ना गरेर उपचार गर्दै आएको जिल्ला जनस्वास्थ्य अधिकृत अशोक सिंहले बताए ।
स्वास्थ्यचौकीले एम्बुलेन्स सेवा, भिसिटी केन्द्र, ओसिटी सेवासमेत सञ्चालन गर्दै आएको छ । स्वास्थ्यचौकीको कार्यक्षेत्रमा थप प्रसूति केन्द्र स्थापना गरेर सेवा दिइरहेको छ । सरकारी दरबन्दीभन्दा बाहेक सबै व्यवस्थापन स्वास्थ्यचौकीले नै गरिरहेको स्वास्थ्य संयोजक दीपक शाहले बताए ।