
काठमाडौं- सार्वजनिक बसमा चोर्न पल्केका पाकेटमारहरूले सांकेतिक भाषा प्रयोग गरी यात्रुहरूलाई लुट्ने गरेको पाइएको छ ।
महानगरीय प्रहरी परिसर, काठमाडौंले आइतवार ८२ जना पाकेटमारलाई सार्वजनिक गर्दै उनीहरूले कोड ल्याङ्ग्वेज प्रयोग गर्ने गरेको जनाएको हो ।
प्रहरीका अनुसार पाकेटमारले पैसालाई 'द', मोबाइललाई 'कान', पाकेटमार पीडितलाई 'रामे', पाकेटमारको नाइकेलाई 'काशी'जस्ता सांकेतिक भाषा प्रयोग गर्ने गरेका छन् ।
परिसरका प्रवक्ता होविन्द्र बोगटीका अनुसार उनीहरूले पैसा धेरै छ भन्नका लागि 'टानको द', पैसा थोरै छ भन्नका लागि 'जुटको द', गाडीलाई 'काँचा', केटालाई 'छापा', केटीलाई 'भद्री' भन्ने गरेका छन् ।
उनीहरूले पुलिस आयो भन्नलाई 'ठूल्दाइ आयो', ड्राइभरलाई 'माम', सहचालकलाई 'मले' र गाडीबाट झरेर भाग भन्नलाई 'टप्की'जस्ता सांकेतिक भाषा प्रयोग गर्ने गरेका छन् ।
पाकेटमारले आफूहरूबीच गाडीभित्र अगाडि सर भन्नका लागि 'अकल जा', गाडीभित्र पछाडि सर भन्नका लागि 'चिछल जा'जस्ता शब्द प्रयोग गर्ने गरेका छन् ।