काठमाडौं – चौतर्फी विवादमा परेको गुठी विधेयक सरकारले फिर्ता लिएको छ ।
राष्ट्रिय सभाको मंगलवार बसेको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारण मन्त्री पद्मा अर्यालले विधेयक फिर्ता लिएकी हुन् ।
विधेयक फिर्ता लिँदै मन्त्री अर्यालले संविधान अनुसार नै विधेयक आएकोमा अहिले निकै विवाद मच्चाउने कोसिस भएकाले सरकार विधेयक फिर्ता लिने निष्कर्षमा पुगेको बताइन् । उनले धर्म परम्परा मास्नको लागि नभइ सनातनदेखि सञ्चालनमा आएका परम्परा नमासिने गरी विधेयक प्रस्ताव आएको दाबी गरिन् ।
कुनै पनि विधेयक पेश हुँदैमा हुबहुँ पारित भएको छैन, परिमार्जनको लागि संसदको दुवै सदनमा संशोधन हालेर निष्कर्ष निकाल्ने सम्भावना हुँदाहुँदै विरोध गरिएका कारण फिर्ता लिनुपरेको मन्त्री अर्यालले दाबी गरिन् ।
‘प्रधानमन्त्रीज्यूले छलफल प्रारम्भ गर्नुभयो तर भएन, मन्त्रालयले विज्ञप्ति जारी गर्यो, छलफलबाट नमिलेका कुरा मिलाउने तथा अस्पष्ट रहेको कुरा स्पष्ट गर्न आह्वान गर्यौं तर समाधान गर्नेतर्फ भन्दा पनि इगो बनाउनेतिर गयो । त्यसपछि जनताको भावना कदर गरेर विधेयक फिर्ता गर्ने निष्कर्षमा पुग्यौं,’ मन्त्री अर्यालले भनिन् ।
गुठी विधेयको विरोधमा आन्दोलन उठेपछि असार ३ गते पत्रकार सम्मेलनमार्फत मन्त्री अर्यालले विधेयक फिर्ताको घोषणा गरेकी थिइन् । संसदमा विचाराधीन विधेयक पत्रकार सम्मेलनमार्फत फिर्ता लिएको भन्दै कांग्रेसले सदनमा विरोध गरेको थियो ।
सरकारले गएको जेठ ६ गते राष्ट्रिय सभामा विधेयक पेश गरेको थियो ।