२६ असार २०८३, शुक्रबार

क्रिकेट विश्वकप : अविजित न्युजील्यान्डविरुद्ध अनिश्चित पाकिस्तान

क्रिकेट विश्वकप : अविजित न्युजील्यान्डविरुद्ध अनिश्चित पाकिस्तान

काठमाडौं – विश्वकपको ३३औं खेलमा बुधवार पाकिस्तान न्युजील्यान्डसँग एजबास्टनमा भिड्दैछ ।

दुवै टीम इंग्ल्यान्डको मैदानमा पाँचौंपटक भिड्दैछन् । पछिल्ला तीन खेलमा पाकिस्तान विजयी भएको छ । न्युजील्यान्डले पछिल्लोपटक १९८३ मा मात्र इंग्ल्यान्डको भूमिमा पाकिस्तानलाई हराएको थियो । 

यस विश्वकपमा पाकिस्तान अंकतालिकामा सातौं स्थानमा छ । उसले सेमिफाइनलमा ठाउँ बनाउने हो भने आजको म्याच जसरी भए पनि जित्नुपर्छ । हारेमा ऊ प्रतियोगितामा अघि बढ्न सक्ने छैन । उसले ६ खेलमा दुई जीत र तीन हार पाएको छ ।

न्युजील्यान्ड भने प्रतियोगितामा अहिलेसम्म अविजित छ । उसको ११ अंक छ । आजको खेल जितेर ऊ सेमिफाइनलमा स्थान पक्का गर्न चाहन्छ । 

दुवै टीम अहिलेसम्म १०६ पटक भिडेका छन् । त्यसमा पाकिस्तान ५४ म्याचमा विजयी भएको छ । न्युजील्यान्डले ४८ म्याच जितेको छ । एक म्याच टाई भयो भने तीन म्याचमा परिणाम निस्किएन । 

विश्वकपमा यी दुईले आठ म्याच खेलेका छन् । पाकिस्तानले ६ पटक अनि न्युजील्यान्डले एकपटक जीत हासिल गरेको छ । 

बर्मिंघममा बादल लाग्ने सम्भावना छ । तापक्रम १४ देखि १९ डिग्री सेल्सियसको बीचमा रहनेछ । टस जित्ने टीमले ब्याटिङ रोज्नेछ । 

पाकिस्तानका लागि हारिस सोहेल फर्ममा आएका छन् । उनले दक्षिण अफ्रिकाविरुद्ध ८९ रन बनाए । अनि यस प्रतियोगितामा सबभन्दा बढी विकेट लिनेमा तेस्रो नम्बरमा रहेका मोहम्मद आमिरले पाँच म्याचमा १५ विकेट लिइसकेका छन् । उनले आजको म्याचमा राम्रो बलिङ गर्ने अपेक्षा छ । 

पाकिस्तानका लागि मोहम्मद हफीजले विश्वकपमा राम्रो प्रदर्शन गर्न सकेका छैनन् । उनले ठूलो पारी खेल्नुपर्नेछ । 

न्युजील्यान्डका लागि कप्तान केन विलियम्सन उत्कृष्ट फर्ममा छन् । उनले यस विश्वकपमा दुई शतक लगाइसकेका छन् । उनको कप्तानीमा टीमले एउटा खेल पनि हारेको छैन । उनले चार इनिङमा १८६.५० को औसतमा ३७३ रन बनाएका छन् । 

न्युजील्यान्डका लागि सबभन्दा बढी विकेट लिने लोकी फर्गुसनले विपक्षी ब्याट्स्म्यानहरूलाई खुबै अत्याएका छन् । उनले पाँच खेलमा १४ विकेट हात पारेका छन् । 

मार्टिन गुप्तिल र कोलिन मुनरो फर्ममा नहुनु चाहिँ न्युजील्यान्डका लागि चिन्ताको विषय हो । उनीहरूले राम्रो शुरूआत गरेमा न्युजील्यान्डले विशाल स्कोर बनाउन सक्थ्यो ।

एजेन्सी
 

salt training

कमेन्ट गर्नुहोस्