
काठमाडौं । बैंक तथा वित्तीय संस्थाको नियामक निकाय नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिका लागि आवश्यक तयारी अन्तिम चरणमा पुगेको जनाएको छ ।
वित्तीय क्षेत्रको व्यवस्थापन गर्न ल्याउने मौद्रिक नीतिका लागि राष्ट्र बैंकले अर्थ मन्त्रालय र सम्बद्ध निजी क्षेत्रका सरोकारवालासँगको छलफललाई तीव्रता दिइरहेको स्रोतले बताएको छ । राष्ट्र बैंक उच्च स्रोतका अनुसार बैंक तथा वित्तीय क्षेत्रको प्रभावकारी व्यवस्थापनका लागि अर्थ मन्त्रालयको चाहनाअनुसार नै ठूला संस्था मर्जर गर्ने तयारी हुँदै छ । असारको तेस्रो साताभित्र मौद्रिक नीति सार्वजनिक गर्ने तयारीमा रहेको राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको मर्जरलाई प्राथमिकता दिने तयारी गरिरहेको स्रोतले जनाएको छ । स्रोतका अनुसार अघिल्लो मौद्रिक नीतिले दिएको बैंक तथा वित्तीय संस्थाको पुँजी वृद्धिको समयसीमा आगामी असार मसान्तमा सकिन लाग्दा पूर्ण नभइसकेकाले त्यसलाई पनि कसरी व्यवस्थापन गर्ने भन्नेबारे छलफल भइरहेको छ ।
राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई मर्जरका लागि प्रशस्त समय दिए पनि राष्ट्र बैंकको निर्देशन नमानेपछि बिग मर्जरलगायतका विषयमा व्यापक छलफल भइरहेको राष्ट्र बैंकका प्रवक्ता लक्ष्मी प्रपन्न निरौलाले बताए ।
राजधानी दैनिकमा खबर छ ।