२२ असार २०८३, सोमबार

८ हजार भूकम्प पीडितद्वारा गुनासो दर्ता

८ हजार भूकम्प पीडितद्वारा गुनासो दर्ता

दमौली – भूकम्प पीडितको लाभग्राहीमा नपरेका तनहुँका १० स्थानीय तहका ८ हजार ८ सय ९२ परिवारले गुनासो दर्ता गराएका छन् ।

गुनासो दर्ता गराएकामध्ये हालसम्म ४ हजार ४ सय ६८ परिवारको छुट तथा पुनः जाँच सर्वेक्षणको काम सकिएको छ ।  

असार १५ गतेभित्र सबै घरधुरीको सर्वेक्षण गरिसक्नुपर्ने भएपनि केही स्थानीय तहमा तोकिएकै मितिभित्र सर्वेक्षणको काम नसकिने जिल्ला आयोजना कार्यान्वयन एकाइ (अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार)का प्रमुख जयप्रकाश गुप्ताले जानकारी दिए ।

यसअघि गत जेठ मसान्तसम्म सर्वेक्षण गर्ने समायवधि भएपनि राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले समय थप गरेको थियो । 

व्यास नगरपालिकामा १ हजार ४ सय ४२ गुनासो दर्ता भएकामा ४ सय ९५, भानु नगरपालिकामा ३ हजार ७ सय ८४ गुनासो दर्ता भएकामा १ हजार २ सय १०, बन्दीपुर गाउँपालिकामा ५ सय ४५ गुनासो दर्ता भएकामा ३ सय १५, म्याग्दे गाउँपालिकामा ७ सय १७ गुनासो दर्ता भएकामा ४ सय ७०, शुक्लागण्डकी नगरपालिकामा १ हजार ५० गुनासो दर्ता भएकामा ६ सय ६२, रिसिङ गाउँपालिकामा १ सय २८ गुनासो दर्ता भएकामा ९० घरधुरीको छुट तथा पुनः जाँच सर्वेक्षण गरिएको छ । 

४ स्थानीय तहमा भने गुनासो दर्ता भएका सबै घरधुरीको छुट तथा पुनः जाँच सर्वेक्षण सकिएको गुप्ताले बताए । आँबुखैरेनी गाउँपालिकामा २ सय ८८ गुनासो दर्ता भएकामा २ सय ८८, देवघाट गाउँपालिकामा २ सय ७६ गुनासो दर्ता भएकामा २ सय ७६, घिरिङ गाउँपालिकामा १ सय ३१ गुनासो दर्ता भएकामा १ सय ३१ र भिमाद नगरपालिकामा ५ सय ३१ गुनासो दर्ता भएकामा ५ सय ३१ घरधुरीको सर्वेक्षण सकिएको छ ।

घरधुरी सर्वेक्षणका लागि ५३ जना प्राविधिक खटिएका छन् । केही स्थानीय तहमा तोकिएकै मितिभित्र सर्वेक्षणको काम सकिएपनि धेरै गुनासो दर्ता भएको स्थानीय तहमा सर्वेक्षणको काम सक्न चुनौती देखिएको गुप्ताको भनाइ छ । 

छुट तथा पुनः जाँच सर्वेक्षणलाई व्यवस्थितरुपमा सञ्चालन गर्नका लागि जिल्ला समन्वय समितिका प्रमुखको अध्यक्षतामा सर्वेक्षण सञ्चालन जिल्ला समिति गठन गरिएको छ । समितिमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, जिल्ला समन्वय अधिकारी र जिल्ला आयोजना कार्यान्वयन एकाइ प्रमुख सदस्य रहने व्यवस्था छ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहसचिव मुकुन्दप्रसाद निरौलाले पुनःनिर्माणको काममा सबैको सहयोग आवश्यक रहेको बताए ।

जिल्लामा १३ हजार ८ सय २१ लाभग्राही पहिचान भएकामा १३ हजार ३ सय ३७ लाभग्राहीले निजी आवास निर्माणका लागि सम्झौता गरेका छन् । सम्झौता गरेका मध्ये १२ हजार ८ सय ८१ लाभग्राहीले पहिलो किस्ता, सात हजारमध्ये ५ सय २४ लाभग्राहीले दोस्रो किस्ता तथा ४ हजार ४४ लाभग्राहीले तेस्रो किस्ताबापतको रकम बुझेका छन् । प्रवलीकरणतर्फ ४ सय ६६ लाभग्राही पहिचान भएकामा २ सय ७१ लाभग्राहीले पहिलो किस्ताबापतको रकम बुझेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्