
काठमाडौं- साझा पार्टीले एक विदेशी निजी संस्थाको आयोजनामा काठमाडौंमा हुने भनिएको इन्डिया इन्टरनेशनल फिल्म अवार्ड समारोह (आइफा)को सम्पूर्ण खर्च नेपाल सरकारले बेहोर्ने निर्णयप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
साझा पार्टीले आइतवार एक विज्ञप्ति जारी गर्दै सरकारको निर्णय मार्फत् ४४ करोड कार्यक्रमको लागि दिने र आगन्तुकहरूको सम्पूर्ण खर्च समेत सरकारले नै व्यहोर्ने निर्णय अनुचित र असान्दर्भिक रहेको ठहर गरेको हो ।
पार्टीद्वारा जारी विज्ञप्तिमा भनिएको छ, 'निजी संस्थाको कार्यक्रमको लागि बिना औचित्य करोडौं खर्चिने सरकारी निर्णय राज्यकोषको चरम दुरुपयोग भएकोले उक्त निर्णय फिर्ता लिन र नेपाली चलचित्र क्षेत्रको विकासमा केन्द्रित हुन सरकारलाई साझा पार्टी आग्रह गर्दछ ।'
सरकारको यस निर्णयलाई फिल्मकर्मीले चर्को विरोध गरेका छन् ।
सामाजिक सञ्जालमा पनि यसले राम्रै चर्चा पाएको छ ।