
धनगढी – कैलालीको जानकी गाउँपालिका–५ का जनप्रतिनिधिले आफ्ना वडाका नागरिकलाई रगत निःशुल्क उपलब्ध गराउने भएका छन् ।
वडाध्यक्ष भीमबहादुर चौधरी र नेपाल रेडक्रस सोसाइटीबीच मंगलवार रगत निःशुल्क उपलब्ध गराउने विषयमा सहमति भएको छ ।
सहमतिमा नेपाल रेडक्रस सोसाइटी टीकापुर शाखाका सभापति जगदीश्वर पण्डित र वडा नम्बर ५ का वडाध्यक्ष भीमबहादुर चौधरीले हस्ताक्षर गरेका छन् । सहमतिअनुसार रेडक्रसले वडा नम्बर ५ का नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने र वडाले चौमासिक रूपमा प्रयोग भएको रगतको आधारमा रेडक्रसलाई भुक्तानी दिनेछ ।
निःशुल्क रगत उपलब्ध गराएवापत वडाले प्रतिप्रिन्ट ८ सय ५० रुपैयाँका दरले रेडक्रसलाई रकम उपलब्ध गराउने छ । ‘रगत मानवतासँग जोडिएको विषय हो, वडावासी कसैले रगत अभाव भएर ज्यान गुमाउनु नपरोस् भन्ने हो,’ वडाध्यक्ष चौधरीले भने, ‘थारू समुदायलाई लाग्ने सिकलसेल ठूलो समस्या हो, यसका लागि पनि रगत चाहिन्छ । यसबाहेक सुत्केरी महिला, रक्तअल्पतालगायत अन्य रोगबाट ग्रसित बिरामीलाई रगत अभाव हुन नदिन यो कार्यक्रम ल्याएको हौं ।’ रक्तसञ्चार केन्द्र टीकापुरले बर्सेनि १ हजार ४ सय प्रिन्ट रगत आपूर्ति गर्ने गरेको छ ।
गर्भवती महिलालाई पोषण खाद्य सामग्री वितरण
कैलालीको टीकापुर नगरपालिकाले पूर्ण संस्थागत सुत्केरी नगरपालिका घोषणाका लागि गर्भवती महिलालाई पोषण खाद्य सामग्री वितरण गरेको छ । नगरपालिकाले नगर क्षेत्रमा रहेका सुत्केरी महिलालाई एक क्यारेट अण्डा, एक किलो भटमास र फलफूल वितरण गरेको हो । नगरपालिकाले १ नम्बर वडाका १०० र अन्य वडाका ३०० गरी ४०० गर्भवतीलाई पोषण तथा आहार वितरण गरेको हो ।
गर्भवतीलाई अण्डा वितरण गर्दै नगरपालिकाका उपप्रमुख केशरी विष्टले गर्भावस्थामा बच्चा र आमा कसरी स्वस्थ रहने भन्नेबारेमा जानकारी दिन यो कार्यक्रम गरिएको बताइन् । ‘गर्भवती अवस्थामा आमा र बच्चाको स्वास्थ्यमा विशेष ख्याल गरिनुपर्छ, आमाका लागि शान्त, सहज वातावरण पनि चाहिन्छ,’ उनले भनिन् ।
उपप्रमुख विष्टले भनिन्, ‘यस वर्ष पोषण सामग्री वितरण गर्यौं, अर्को वर्ष आमासँग उपमेयर कार्यक्रम सञ्चालन हुनेछ ।’
स्वास्थ्य शाखा संयोजक बलबहादुर रावलले पोषण सामग्री वितरणसँगै गर्भवतीलाई गर्भावस्थामा ध्यान दिनुपर्ने कुरा, गर्भ जाँच, लगाउनुपर्ने खोप, नियमित खानुपर्ने आइरन चक्कीजस्ता ज्ञानसमेत दिइएको बताए । उनले घरमा सुत्केरी हुने दर शून्य गर्न पनि यो अभियान चलाइएको बताए ।