२८ जेठ २०८३, बिहीबार

अमेरिका, चीनबीच व्यापार वार्ता पुनः शुरू

अमेरिका, चीनबीच व्यापार वार्ता पुनः शुरू

वासिङ्टन– संयुक्तराज्य अमेरिका र चीनका उच्च व्यापार मध्यस्थकर्ताबीच मंगलवार टेलिफोनमा कुराकानी भएको छ । दुवै मुलुकबीच विश्वासको वातावरण रहेको घोषणा गरेको करीब एक हप्तापछि नै व्यापार युद्धको चित्तबुझ्दो समाधानका लागि वार्ताको पहल शुरू भएको हो ।

अमेरिकाले चीनमाथि थप सामग्रीमा करवृद्धि गर्ने घोषणा गरेसँगै दुवै मुलुकबीच जारी वार्ता गत मे महिनामा एकाएक भङ्ग भएको थियो । अमेरिकी कदम लगत्तै चीनले पनि प्रतिशोध स्वरूप कतिपय अमेरिकी सामानमा करवृद्धि गरेको थियो ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच गत जुन २९ मा जापानमा भेटवार्ता भएपछि अवरुद्ध व्यापार वार्ता पुनः थालनी गर्ने विषयमा सहमति भएको थियो । विश्वका २० औद्योगिक राष्ट्रहरूको शिखर सम्मेलन (जी२०) बैठकमा सहभागी हुन जापानको ओशाकामा रहँदा दुवै नेताबीच व्यापार, लगानी र बौद्धिक सम्पत्तिको सुरक्षाजस्ता विषयमा छलफल भएको थियो ।

अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिन र व्यापार प्रतिनिधि रोबर्ट लाइटिजरले चिनियाँ उपप्रधानमन्त्री लिऊ हे र वाणिज्य मन्त्री झोङ शानसँग मंगलवार टेलिफोनबाट कुराकानी गरेका थिए । 

ह्वाइट हाउसका आर्थिक सल्लाहकार ल्यारी कुडलोले संवाददाताहरूसँग कुरा गर्दै वार्ता निकै रचनात्मक भएको तर विस्तृत विवरण सार्वजनिक गर्ने समय नभइसकेको जानकारी दिए ।

अमेरिकी टेलिभिजन फक्स बिजनेस नेटवर्कलाई दिएको अन्तर्वार्तामा कुडलोले दुवै देशका उच्च व्यापार मध्यस्थकर्ताबीच भएको वार्ता प्रारम्भिक रहेको बताउँदै दुवै पक्षबीच सायद तत्कालै बैठकको आयोजना हुनेछ भने । उनले चीनले जतिसक्दो चाँडो अमेरिकी कृषि उत्पादन खरीद गर्न थालेलगत्तै सम्भवत वार्ता पनि सुचारु हुने बताए ।

चिनियाँ वाणिज्य मन्त्रालयले जारी गरेको संक्षिप्त वक्तव्यमा ओशाकामा दुवै राष्ट्रपतिबीच भएका विचार आदानप्रदानकै सेरोफेरोमा सहमति खोजिने उल्लेख छ । 

अमेरिका र चीनले एक अर्का मुलुकका करीब ३ खर्ब ६० अर्ब अमेरिकी डलर बराबरका सामानमा २५ प्रतिशतसम्म करवृद्धि गरेका छन् । 

salt training

कमेन्ट गर्नुहोस्