काठमाडौं – भारतीय अन्तरिक्ष नियोग इसरोको चन्द्रयान–२ विमान प्रक्षेपण गरिन लाग्दा अन्तिम समयमा हिलियम चुहिएपछि रद्द गरिएको छ । चन्द्रमाको नखोजिएको पाटोमा पुगेर खोजी गर्ने लक्ष्य यसले लिएको थियो ।
चन्द्रयान–२ सोमवार बिहान २ः५१ मा उडान भर्नुपर्ने थियो तर प्रक्षेपण हुनुभन्दा ५६ मिनेट पहिले मिसन रोकिएको थियो ।
इसरोका पाँच सूत्रले द टाइम्स अफ इन्डियासँग कुराकानी गर्दै क्रायोजोनिक इन्जिनमा इन्धन लीकेज भएको पुष्टि गरे ।
इसरोले एक बयान जारी गरेर भनेको थियो, ‘चन्द्रयान–२ मा केही प्राविधिक समस्या आएको छ । त्यसैले हामलिे मिसनलाई यहीँ रोक्ने फैसला लिएका छौं । प्रक्षेपणको नयाँ मिति छिट्टै घोषणा गरिनेछ ।’
एक वरिष्ठ वैज्ञानिकले बताए, ‘इन्जिनमा तरल अक्सिजन र तरल हाइड्रोजन भरेपछि हिलियम भर्ने काम भइरहेको थियो । हामीले ३५० बारसम्म हिलियम भर्नुपर्ने थियो र आउटपुटलाई ५० बारमा सेट गर्नुपर्ने थियो । तर हिलियमको प्रेसर तीव्रताका साथ तल खस्न थालेको हामीले पायौं । यसले लीक भएको संकेत दियो । कुन ठाउँमा लीक भएको हो भनी हाम्रो टोलीले हेर्दैछ ।’
यसअघि जुन २२ मा ग्राउन्ड टेस्टका बेलामा अक्सिजन ट्यांकमा पनि लीकेजको समस्या आएको थियो । इसरोले १५ जुलाईमा नै प्रक्षेपणको मिति फिक्स गरेको थियो । अर्को प्रक्षेपण मिति सेप्टेम्बर महिनातिर हुन सक्नेछ ।
एजेन्सी