
महोत्तरी- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी र डुबान प्रभावितको उद्धार तथा राहतमा लाग्न सबैसँग आग्रह गरेका छन् ।
महोत्तरीका बाढी तथा डुबान प्रभावित क्षेत्रको स्थलगत अनुगमन एवं पीडितको अवस्था बुझ्न बर्दिवास आइपुगेका सभापति देउवाले बिहीवार आफ्नै पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै यस्तो आग्रह गरेका हुन् ।
'अहिले बिपत्तिको समय छ, सबै आग्रह पूर्वाग्रह त्यागेर राहत तथा उद्धारमा जुट्नुहोस्,' सभापति देउवाले कार्यकर्तालाई सम्बोधन गर्दै भने, 'यस्तो समयमा आफ्नो, पराया भन्ने भावनाबाट मुक्त भई सेवाभावले राहत, उद्धारका काममा लाग्नुहोस् ।'
अरू सबै राजनीतिक दल, सरकारी निकाय र दातृ संस्थाबाट पनि आफूले यस्तै सेवाको अपेक्षा राखेको देउवाको भनाइ छ ।
पीडितको नाम नै सङ्कलन गर्दा पनि कतिपय ठाउँमा तलमाथि भएको गुनासो आफूसमक्ष आएको बताउँदै सभापति देउवाले त्यस्ता गुनासा आउन नदिन सबै दलका कार्यकर्ताले उदार बन्नुपर्ने सुझाव दिए ।