
काठमाडौं – टेस्ला कम्पनीका संस्थापक एलन मस्कले मानव मस्तिष्कलाई कम्प्युटरसँग जोड्ने न्युरालिंक सेवाको खुलासा गरेका छन् ।
मस्कले कृत्रिम बौद्धिकताभन्दा पछि पर्नबाट बच्नका लागि मस्तिष्कलाई मशिनसँग जोड्नु आवश्यक रहेको तर्क गर्दै आएका छन् ।
मस्क र न्युरालिंक टोलीका सदस्यले यस मिसनमा गरेको प्रगतिको विवरण अमेरिकाको सान फ्रान्सिस्कोमा सुनाएका थिए ।
प्रविधि क्षेत्रका अग्रणीहरूले कृत्रिम बौद्धिकता मानवहरूका लागि अमूल्य हुने बताउँदै आएका छन् । अन्यले भने यसबाट मानवजातिलाई नै जोखिम पर्ने बताएका छन् ।
गत नोभेम्बर महिनमा टेस्ला तथा स्पेसएक्सका सीईओ एलन मस्कले कृत्रिम बौद्धिकतालाई सुरक्षित बनाउनुमा ५ देखि १० प्रतिशत मात्र सफलता पाइने बताएका थिए ।
आफ्नो कम्पनी न्युरालिंकमा कर्मचारीहरूसँग कुरा गर्ने क्रममा उनले यो टिप्पणी गरेका थिए ।
न्युरालिंकले मस्तिष्करोग र पक्षघातलाई निको पार्नमा जोड दिइरहेको छ ।
‘हामी पूर्ण रूपमा मस्तिष्क र यन्त्रको अन्तःसम्बन्ध बनाउन सक्छौं,’ मस्कले भने ।
न्युरालिंकले बनाएको चिपले कानमा लगाएको यन्त्रसँग ताररहित रूपमा सञ्चार गर्न सक्छ । त्यहाँबाट प्राप्त सूचना स्मार्टफोनको यापमा पुर्याउन मिल्छ ।
अहिलेका लागि शरीरमा चिप जडान गरेको व्यक्तिले सोचेरै मात्र पनि स्मार्टफोन नियन्त्रण गर्न सक्ने लक्ष्य लिइएको छ । तर यो प्रविधि विस्तार गरेर रोबोट हातहरू बनाउने सम्भावना छ ।
एजेन्सी