२२ असार २०८३, सोमबार

एक मुठी चामल सहयोग माग्दै सुर्खेतको साझा घर

साउन ५, २०७६
एक मुठी चामल सहयोग माग्दै सुर्खेतको साझा घर

सुर्खेत- कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा गएको चैत १५ देखि सञ्चालन भइरहेको साझा घर असहायको सहारा बनेको छ । अहिलेसम्म साझाघरले २७ जनाको हेरचाह गरिरहेको छ । ९ जनालाई परिवारसँग मिलन गराइसकेको छ । घरमा मानसिक सन्तुलन गुमाएका, परिवारबाट विछोड भएका तथा सडक बालबालिकाले आश्रय लिइरहेका छन् । सेवकहरू विनोद चौलागाई, भीमबहादुर विश्वकर्मा, विष्णुबहादुर शाही, तपेन्द्र विक, अहेब कल्पना मल्लले निःशुल्क सेवा दिइरहेका छन् ।

दैलेख, सुर्खेत, कालिकोटबाट असहायहरू आएका छन् । ‘दैलेखको तल्लो डुंगेश्वर देखि ६ जना, कालिकोटबाट पनि असहाय ल्याएका थियौं,' सेवक विनोद भन्छन्, ‘हामी सबैले निःशुल्क सेवा गर्दै आइरहेका छौं ।’ उनले अहिले एक लाख पचास हजार जति मासिक खर्च भइरहेको जानकारी दिए । ‘यहाँ आएका मानसिक सन्तुलन गुमाएका बिरामीहरूको लागि औषधि काठमाडौं तथा अन्यत्रबाट मगाउनु पर्ने हुन्छ,’ उनी भन्छन्, ‘त्यही कारण एक लाख पचास जति मासिक खर्च हुने गरेको छ ।’

अर्का सेवक भिमबहादुर घरभाडा मात्रै मासिक २२ हजार तिर्ने गरेको बताउँछन् । ‘दश ओटा कोठा लिएका छौं । कोठा भाडा २२ हजार तिर्ने गरेका छौं,’ वीरेन्द्रनगरको वडा नं. ९ लाटीकोइलीमा सञ्चालन गरिएको उक्त साझा घरमा पानीको धारा नभएको बताउँदै भिमले भने, ‘हामीलाई अहिले छिमेकीले पानी दिइरहेका छन् ।’ त्यहाँ रहेका बालबालिकाहरूलाई विद्यालयमा पनि पठाउने गरिएको छ । ‘दुई जनालाई हामीले नवज्योतिमा अध्यापन गराइरहेका छौं ं। नवज्योतिले निःशुल्क अध्यापन गराइदिएको हो,' उनी भन्छन्, ‘अन्यलाई शिव माध्यमिक विद्यालयमा अध्यापन गराइरहेका छौं ।’ उनले सेवा गर्ने मन भएकालाई साझा घरमा जहिले पनि स्वागत गर्न तयार रहेको बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सडकमा नांगै, भोकै बस्न नपर्ने बताइरहेका बेला साझा घर भने आर्थिक अभावको चपेटमा छ । अर्का सेवक विष्णुबहादुर शाहीले प्रधानमन्त्रीले बोलेका कुरालाई व्यवहारमा कार्यान्वयन गर्न राज्यले लगानी गर्नुपर्नेमा जोड दिए । ‘देशका कार्यकारी प्रमुखले बोलेका कुरा पुरा गर्नैपर्छ,’ उनी भन्छन्, ‘असहायका लागि खुलेका यस्ता घरमा राज्यले नै लगानी बढाउनुपर्छ ।’

एक मुठी चामल सहयोग गर्न आग्रह

साझा घरका सेवकहरूले हरेक विद्यालय तथा अन्य समुदायलाई एक मुठी चामल दिन आग्रह गरेका छन् । ‘हामी एक मुठी चामल वा दाल दिनुहोस् भनेर आग्रह गर्दछौं,’ उनले भने, ‘त्यसका लागि निकट भविष्यमा कालिकोटका विद्यालयमा जाने योजना बनाएका छौं ।’ 

साझा घरमा रहेका ती असहायलाई स्थानीय एक पसलबाट उधारोमा दाल चामल ल्याउने गरिएको छ । केही सहयोगी मानिसहरू आएर आएर थोरै भएपनि दाल, चामल ल्याएर दिने गरेको सेवकहरू बताउँछन् । साझा घरका सेवकहरूले प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय तथा अन्य मन्त्रालयमा सहयोगका लागि कागजात पनि पेश गरे तर कतैबाट पनि सहयोग संकलन जुट्न सकेको छैन ।

आफूहरूले आफ्ना लागि नभई सरकारले गर्नुपर्ने काम गरिरहेको उनीहरूको भनाइ छ । साझा घरका सेवकहरूले कर्णालीका कुनैपनि व्यक्ति असहाय तथा मानसिक रोगी वा सडक बालबालिका भए साझा घरको फोन नम्बर ९८६५६०९३७९ मा सम्पर्क गर्न आग्रह गरेका छन् । उनीहरूले सहयोगी मनकारीलाई साझा घरका असहायका लागि नाना, खानाको व्यवस्था गर्नका लागि सहयोग गरिदिन आग्रह समेत गरेका छन् ।

salt training

कमेन्ट गर्नुहोस्