
काठमाडौं – क्याथोलिक क्रिस्चियनहरूको पवित्र शहर भ्याटिकन सिटीका दुई चिहानमा हजारौं हाड फेला परेका छन् । तीन दशकअघि बेपत्ता भएकी १५ वर्षीया एक किशोरी कसरी हराइन् भन्ने विषयमा अनुसन्धान गर्ने क्रममा हाडहरू भेटिएका हुन् ।
भ्याटिकनका एक प्रभावशाली कर्मचारीकी छोरी इमानुएला ओर्लान्डी सन् १९८३ मा बेपत्ता भएकी थिइन् । उनी मध्य रोमबाट संगीत सिकेर घर फर्किंदै थिइन् ।
ओर्लान्डी बेपत्ता भएको घटनाले इटालेलीहरूलाई तीन दशकसम्म रोमाञ्चित पारिरहेको छ । यस विषयमा अनेकौं षड्यन्त्र सिद्धान्तहरू प्रस्तुत गरिएका छन् । आपराधिक समूहहरूदेखि लिएर अन्तर्राष्ट्रिय आतंकवादीहरू अनि भ्याटिकनका उच्च पदाधिकारीसम्म घटनामा संलग्न रहेको मानिएको छ ।
पोहोर साल ओर्लान्डी परिवारले अज्ञात स्रोतबाट सूचना पाएपछि यस घटनामा चासो फेरि जागेको हो । सूचनादाताले राजकुमारी सोफी फोन होहेनलोहे र राजकुमारी शार्लेट फेडेरिकाका चिहानमा इमानुएलाको हाड रहेको सूचना दिएका थिए ।
ओर्लान्डी परिवारले एउटा मूर्तिको तस्वीर तथा एक निर्देशन प्राप्त गरेका थिए । निर्देशनमा देवदूतले कता संकेत गरिरहेको हो हेर्नू भनी लेखिएको थियो । त्यो हेर्दै जाँदा उनीहरू ट्युटोनिक सिमेटरी पुगे । त्यो सेन्ट पिटर्स बासिलिकानजिक छ र त्यहाँ जर्मन भाषा बोल्ने क्याथोलिकहरूलाई प्रायः गाड्ने गरिन्छ ।
भ्याटिकनले फोरेन्सिक अनुसन्धानकर्मीहरूलाई चिहान खोल्ने अनुमति जुलाई ११ मा दिएपछि केही फेला परेन । तर मृतकहरूको हाड भण्डारण गरेर राख्ने ओस्सुएरीहरू खोलियो ।
अनुसन्धानकर्मीहरूले चिहानमा हजारौं हाड फेला पारे र यी हाड दर्जनौं मानिसको भएको विश्वास गरिएको छ ।
अब सबै हाडहरूको डीएनए विश्लेषण गरिनेछ ।
सीएनएनबाट