
काठमाडौं – गृह मन्त्रालयले नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपाका कार्यकर्तालाई नियन्त्रण गर्ने नीति लिएको छ ।
मंगलवार आर्थिक वर्ष २०७५/०७६ का वार्षिक कार्यसम्पादन प्रगति र आगामी कार्यदिशा सम्बन्धमा सञ्चारकर्मीसँगको अन्तर्क्रियामा बोल्दै गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले विप्लव समूहको नेकपाका कार्यकर्तालाई नियन्त्रण लिएको बताए ।
‘देशको शान्ति सुरक्षाको निम्ति हामीले गर्नुपर्ने कर्तव्य पूरा गरेका छौं । राज्यका कानून विपरीतका कार्यलाई जहिले पनि राज्यले नियन्त्रण गर्छ,’ उनले भने ।
विप्लव समूहलाई वार्ताको लागि ढोका खुल्ला भएकोतर्फ संकेत गर्दै मन्त्री थापाले विप्लवलाई वार्तामा आउन आग्रह समेत गरेका छन् ।
‘नेपालको संविधानले राज्यको शान्ति सुरक्षाको निम्ति सशस्त्र आन्दोलनमा रहेका सबैलाई वार्ताको माध्यमबाट समाधान गर्न ढोका खुल्ला गरेको छ,’ मन्त्री थापाले भने ।
विप्लवका गैरकानूनी र असंवैधानिक गतिविधिलाई नियन्त्रण गरिरहेको र राजनैतिक स्थायित्वको निम्ति पनि पहल गरिरहेको थापाले कार्यक्रमामा बताएका छन् ।