
गुल्मी – सोमवारदेखिको अविरल वर्षाका कारण आएको पहिरोमा पुरिएर गुल्मीको सत्यावती गाउँपालिकामा ८ जनाको मृत्यु भएको पुष्टि भएको छ ।
पहिरोमा परेर १७ जना बेपत्ता रहेकोमा ८ जनाको शव निकालिएको सत्यावती गाउँपालिकाकी उपाध्यक्ष सुवर्णा शेरचन शाहीले लोकान्तरलाई जानकारी दिइन् ।
सत्यावती गाउँपालिका–३ मा ८ जना हराएकोमा ४ जनाको शव निकालिएको र अन्यको खोजी जारी रहेको उनले बताइन् । वडा नम्बर ४ मा ९ जना बेपत्ता रहेकोमा ४ जनाको शव फेला पारिएको र ५ जनाको खोजी कार्य जारी रहेको उनले बताइन् ।
‘पहिरोले धेरै क्षति गरेको छ, जताततै पहिरो गएको छ,’ उपाध्यक्ष शाहीले लोकान्तरसँग भनिन्, ‘गाडीबाट घटनास्थलमा जान नसकिएपछि हिँडेर जाँदैछु ।’ उनका अनुसार दर्जनौं स्थानमा पहिरो गएका कारण घटनास्थलमा पुग्न ढिलाइ भएको छ ।
जिल्ला समन्वय समितिको टोली पनि हिँडेर घटनास्थलतर्फ जाँदै गरेको उनले बताइन् । ‘वडाध्यक्षसँग समन्यव गरेर जोखिममा रहेका घरका व्यक्तिलाई सुरक्षित स्थानमा सारेका छौं,’ उनले भनिन् ।
पहिरोको घटनाले पूरै गाउँ शोकमा डुबेको छ भने बेपत्ताको खोजीका लागि स्थानीय र सुरक्षाकर्मी परिचालन भएका छन् ।