
बुटवल – ५ नम्बर प्रदेशको राजधानी बुटवलसहित नेपालगञ्ज र तुलसीपुर गरी ३ शहरलाई ध्वनि प्रदुषणमुक्त बनाउन भन्दै ट्राफिक प्रहरीले हर्न निषेध अभियान थाल्यो ।
७ महिना अगाडि २०७५ मंसिर १ गतेदेखि ५ नम्बर ट्राफिक प्रहरी कार्यालय बुटवलले थालेको ‘नो हर्न’ अभियान प्रभावहीन देखिएको छ । ट्राफिक व्यवस्थापन अस्तव्यस्त हुँदा बजार क्षेत्रमा निषेध गरेको हर्न जतिबेला पनि बजिरहेको सुनिन्छ ।
सवारीको चापका कारण प्रदेशका मुख्य शहरमा ध्वनि प्रदूषण बढेको गुनासो आएपछि प्रहरीले ‘हर्न निषेध’ अभियान थालेको थियो । ट्राफिक प्रहरीले प्रभावकारी रूपमा ध्वनि प्रदूषण गराउने गरी ‘हर्न’ बजाउने गाडीलाई कारवाही गर्न सकेको छैन ।
ट्राफिक प्रहरीले भने अभियान थालेपछि नियन्त्रण स्वरूप गाडीले ‘हर्न’ बजाउन कम गरेको दाबी गर्छ । ५ नम्बर ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी उपरीक्षक मधुसुदन लुइँटेलले अभियानले पूर्ण रूपमा कार्यान्वन गर्न कठिनाइ भएपनि कम भएको दाबी गरे ।

‘पूर्ण रूपमा ‘हर्न’ निषेध गर्न कठिनाइ हुने रहेछ,’ एसपी लुइँटेलले लोकान्तरसँग भने, ‘यसलाई अझै सुधार गरी काम गर्ने हाम्रो आगामी कार्ययोजना छ । ट्राफिक प्रहरीले मात्र काम गरेर यसलाई कार्यान्वयन गर्न गाह्रो हुने रहेछ । यसको लागि मानिसमा पहिलो सचेतना आवश्यक हुन्छ । मानिसको संस्कारमा परिवर्तन हुन आवश्यक देख्छु ।’
एम्बुलेन्स, सुरक्षाकर्मी, शव बाहन, दमकललगायत आकस्मिक प्रयोजनमा गुड्ने सवारीका हकमा भने ‘नो हर्न’ लागू हुने छैन । बुटवलको तल्लो सिद्धबाबादेखि राजमार्ग चौराहा, तिनाउपुलदेखि रामगनरसम्मको क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको छ । यहाँ दैनिक ५ हजारभन्दा बढी सवारीसाधान ओहोरदोहोर गर्छन् । प्रहरीले ६ महिनाको अवधिमा जम्मा ३ सय ३ जनालाई कारवाही गरेको दाबी गरेको छ । पूर्वपश्चिम मुख्य राजमार्ग पनि यहीँ बुटवल शहरमा पर्छ ।

पहिलो चरणमा नमूनाका रूपमा बुटवल उपमहानगरपालिकाको मुख्य बजार क्षेत्रलाई हर्न निषेधित क्षेत्र घोषणा गरिएको हो । शहरको सौन्दर्यीकरणका साथै ध्वनि, धुलो र वायु प्रदूषणलाई समेत क्रमशः न्यूनीकरण गर्दै जाने सबैले प्रतिबद्धता जनाएका थिए ।
कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) रामप्रकाश शाहले ‘नो हर्न’बारे जनचेतना अभिवृद्धि र सचेतनाका कार्यलाई व्यवस्थित गर्ने काममा लागेको बताए । जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक पविन्द्र बमले नेपालगञ्जमा ‘नो हर्न’ सफल भएको दाबी गरे । आफूहरूको निगरानीमा कम भएकाले भारतीय गाडीबाहेक अन्यको प्रभावकारी रहेको बताए ।
ट्राफिक प्रहरी कार्यालय तुलसीपुरका प्रमुख चन्द्रबहादुर केसीले सानो सडक, बजार क्षेत्रमा ‘नो हर्न’ कार्यान्वयन गर्न कठिनाइ रहेको बताए । तर आफूहरूले हर्न बजाउने ६ सय २३ जनालाई कारवाही गरेको बताए । जसबाट ३ लाख २४ हजार राजस्व समेत संकलन गरिएको केसीले बताए । तुलसीपुरमा मंसिर १६ गतेदेखि ‘नो हर्न’ लागू भएको थियो । पछिल्लो समय देशमा मुख्य शहरमा हर्न निषेध अभियान थालिएको छ ।
दुर्घटनामा ६२३ जनाको मृत्यु
५ नम्बर प्रदेशमा आर्थिक वर्ष २०७५/०७६ मा सवारी दुर्घटनामा परी ६ सय २३ जनाले ज्यान गुमाएका छन् । ५ नम्बर प्रदेशका १२ जिल्ला सबैभन्दा धेरै रुपन्देहीमा १ सय ४३ जनाको मृत्यु भएको छ । दाङमा १ सय ४, नवलपरासीमा ७३, कपिलवस्तुमा ८०, पाल्पामा ४०, गुल्मीमा १९, अर्घाखाँचीमा १६, बाँकेमा ७१, बर्दियामा ३३, प्यूठानमा १४, रोल्पामा १५ र रुकुममा १५ जनाको मृत्यु भएको ट्राफिक प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा ९ सय ३३ जना गम्भीर र ७ सय ११ सामान्य घाइते भएका छन् । १ वर्षमा प्रदेशभर १ हजार २९ दुर्घटना भएका थिए ।
१५ करोड राजस्व संकलन
ट्राफिक प्रहरीले जरिवानाबाट झण्डै १५ करोड रुपैयाँ राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७५/०७६ मा प्रदेशभरबाट १४ करोड ४१ लाख ९४ हजार ५ सय रुपैयाँ संकलन गर्न सफल भएको हो । ५ नम्बर ट्राफिक प्रहरी कार्यालयले १ करोड ५६ लाख ३३ हजार ५ सय, जिल्ला ट्राफिक प्रहरी कार्यालय रुपन्देहीले ३ करोड ५१ लाख २ हजार, पश्चिम नवलरासी ट्राफिकले १ करोड ४० लाख १६ हजार, कपिलवस्तुले १ करोड ७५ लाख १६ हजार, पाल्पाले ९१ लाख १९ हजार ५ सय, गुल्मीले ३९ लाख ७ हजार, अर्घाखाँचीले ३६ लाख ८४ हजार ५ सय, दाङले २ करोड १३ लाख ५ हजार ५ सय, बाँकेले १ करोड ६९ लाख ९ हजार, बर्दियाले ७९ लाख, ११ हजार ५ सय, प्यूठान ३५ लाख ७ हजार, रोल्पाले १५ लाख २२ हजार र रुकुमले ३७ हजार संकलन गरको हो ।
ट्राफिक जनशक्ति अभाव
प्रदेशमा ट्राफिक प्रहरीको जनशक्ति कम छ । १२ जिल्ला रहेको प्रदेशमा जम्मा २ सय ६८ जना ट्राफिक प्रहरीको दरबन्दी छ । सडक सुरक्षा र दुर्घटना न्यूनीकरण गर्नका लागि पर्याप्त ट्राफिक जनशक्ति नहुँदा ट्राफिक व्यवस्थापन अस्तव्यस्त देखिन्छ । अहिले प्रदेशमा ४ सय ७२ ट्राफिक प्रहरी कार्यरत छन् ।
बुटवलको सडक बेहाल
बुटवल बजार क्षेत्रका सडक खाल्डाखुल्डी र धुलोले बेहाल भएको छ । वर्षासँगैको भेलले सडकमा खाल्डाखुल्डी बनाउन बजार क्षेत्र पानी पर्दा हिलो र घाम लाग्दा धुलोले गर्दा सर्वसाधारणलाई सास्ती भएको छ । बुटवल–बेलहिया व्यापारिक मार्ग विस्तार आयोजनाले सडक मर्मतको लागि चासो दिएको छैन । सडक सोही आयोजना अन्तर्गत छ ।