
काठमाडौं– मोबाइलबाट धम्क्याइ रकम असुल्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
मोबाइल फोनमार्फत धम्की दिएर ७५ लाख रुपैयाँ माग गर्ने ललितपुर महानगरपालिका–२४ बस्ने ३० वर्षीय उदय गिरीलाई शुक्रवार प्रहरीले पक्राउ गरेको हो ।
गिरीले विभिन्न मितिमा नेपाली तथा भारतीय मोबाइल नम्बरहरू प्रयोग गरी भारतबाट समेत फोन गरी विभिन्न व्यक्तिहरूलाई धम्की दिएर रकम माग गर्ने गरेको प्रहरीले जनाएको छ । गिरीलाई महानगरीय अपराध महाशाखा काठमाडौंबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा ललितपुर महानगरपालिका–२४ धापाखेलबाट पक्राउ गरेको हो ।
गिरी यसअघि हातहतियार तथा खरखजना मुद्दामा ३ वर्ष जेल भुक्तान गरी छुटेका व्यक्ति हुन् । थप अनुसन्धान भइरहेको महाशाखाले जनाएको छ ।