१९ असार २०८३, शुक्रबार

त्रिशूली बस दुर्घटना : मृतकको संख्या ५ पुग्यो

त्रिशूली बस दुर्घटना : मृतकको संख्या ५ पुग्यो

धादिङ – शुक्रवार बिहान धादिङको बेनिघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको यात्रु बस दुर्घटनामा मृतकको संख्या ५ पुगेको छ ।

मोडमा पुगेपछि सिधै त्रिशूली नदीमा खसेको बस सडकबाट करीब १०० मिटर तल पानीमा डुबेर दुर्घटना भएको थियो । 

दुर्घटनामा मृत्यु हुनेमा सर्लाही जिल्ला निवासी ३५ वर्षीय अजय दास, २५ वर्षीय विजय कुर्मी र नाम वतन नखुलेको १ जना पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक राजकुमार वैदवारले बताए ।

यसैगरी नदीले बगाएर लगेको अवस्थामा मुग्लिन नजिकैबाट २ जनाको शव प्राप्त भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटनामा १६ जना घाइते भएकाले उपचार भइरहेको छ ।

घाइतेको राजमार्ग सामुदायिक अस्पताल मलेखु, प्राथमिक स्वास्थ्य केन्द्र गजुरी, राजमार्ग सामुदायिक अस्पताल गजुरी र ट्रमा सेन्टर काठमाडौंमा उपचार भइरहेको छ ।

गजुरी अस्पताल धादिङमा उपचारपश्चात् डिस्चार्ज भएका घाइते सर्लाही जिल्ला गमहरिया नपा–८ बस्ने ३६ वर्षीय दिनेश ठाकुर, सर्लाही जिल्ला हरिपुर–७ बस्ने ३४ वर्षीय भोगेन्द्र चौधरी, सर्लाही जिल्ला औरही गापा–७ बस्ने १५ वर्षीय राहुल महत्तो मध्यम, सर्लाही जिल्ल्ला हरिपुर नपा–९ बस्ने अमृत लामा, सर्लाही जिल्ला कबिलासी लाठी गापा–६ बस्ने ३१ वर्षीय भुपेन्द्रकुमार यादव, सर्लाही जिल्ला कविलासी गापा–४ बस्ने ३३ वर्षीय विजय राय यादव, भारत विहार सीतामणि पनौलीथाना–४ बस्ने ४२ वर्षीय भिरेन्द्र ठाकुर रहेका छन् । 

काठमाडौं ट्रमा सेन्टरमा उपचार भइरहेको घाइतेहरू भारत सीतामणि घर हुने ४० वर्षीय धिरेन्द्र ठाकुर,  जिल्ला सर्लाही कविलास गापा–४ बस्ने अन्दाजी ३२ वर्षीय विजय यादव, जिल्ला सर्लाही हरिपुर गापा–४ बस्ने २८ वर्षीय प्रमोद कुँवर, सहचालक सर्लाही जिल्ला मलंगवा नपा–११ बस्ने १६ वर्षीय सिकिन्द्रकुमार महतो, सर्लाही जिल्ला विष्णु गापा– ५ बस्ने २१ वर्षीय कुश रन्जम महतो, सर्लाही जिल्ला ब्रह्मपुरी बस्ने १६ वर्षीया श्वेता रौनियार, सर्लाही जिल्ला हरिपुर घर हुने बस चालक ४० वर्षीय जीवन विक, सर्लाही जिल्ला ब्रह्मपुरी–६ बस्ने २२ वर्षीय राकेश बैठा र अन्य २ जनाको नाम खुलेको छैन । 

ना६ख ७४६९ नम्बरको बस शुक्रवार बिहान ३ बजेको समयमा नदीमा खसेपछि केही व्यक्ति पौडेर ज्यान बचाएका थिए । राति पौडेर ज्यान बचाए पनि बिहान ७ बजे मात्र २ जनाको नदी किनारको खोंचबाट उद्धार गरिएको थियो ।  

यात्रु बसमा मलंगवाबाट ३९ यात्रु र हरिपुरबाट २ यात्रु चढेको यातायात समितिले जनाएको छ । सोही गाडीमा सवार बी१६ नम्बर सिटका यात्रु समिमराज अन्सारीका अनुसार सबै सिट भरिएर ४ जना मानिस मुढामा बसेको र सवारी चालक दलका सदस्यबाहेक क्याबिनमा अन्य ४ जना रहेका थिए । उनीहरू सबैको टिकट नभएको बताइएको छ ।

यातायात समितिले ३८ जनाको चलानी गरी पठाइएको स्पष्ट पारेको छ । उनीहरू सबैको उद्धार नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र रेडक्रसका स्वयंसेवक राजमार्ग उद्धारकर्ताहरुले गरेका थिए ।
रातिको समय भएकाले उद्धारमा समस्या आएको थियो । प्रहरीले चालक निदाएर दुर्घटना भएको प्रारम्भिक अनुमान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्