
काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन ‘अनन्त’ले नेपालको विद्युत् उत्पादन, प्रसारण, वितरण, व्यापारजस्ता कार्यमा संरचनात्मक सुधार आवश्यक रहेको बताएका छन् ।
शुक्रवार एसियन इन्स्टिच्यूट अफ टेक्नोलजी अल्मुनी एसोसिएसन नेपालले आयोजना गरेको एक दिवसीय सेमिनार कार्यक्रममा ऊर्जामन्त्री पुनले सुधारको आवश्यक औल्याएका हुन् ।
सुधारका लागि मन्त्रालयले कानूनी व्यवस्था गरी उपयुक्त संरचना सुधार गर्ने मन्त्री पुनले बताए । नेपालले भारत, बंगलादेश र चीनसँग अन्तरदेशीय विद्युत् व्यापारको सन्दर्भमा द्विपक्षीय सहमति र सम्झौता गरेको बताउँदै मन्त्री पुनले विभिन्न तहका संयन्त्र उपलब्धिमूलक तवरबाट क्रियाशील रहेको बताए ।
‘नेपालले ऊर्जा विकासको लागि लिएको लक्ष्य, लक्ष्यप्राप्तिका लागि अवलम्बन गरेका कदम, भावी योजना र क्रियाकलापले यो क्षेत्रमा सकारात्मक प्रभाव परेको छ,’ उनले भने ।
ऊर्जाका सम्बन्धमा आयोजना हुने अन्तक्र्रियात्मक कार्यक्रमले नेपालको ऊर्जा विकासको लागि ‘पोलिसी इन्पुट’ हुने समेत उनको भनाइ छ ।
कार्यक्रममा उनले ऊर्जा क्षेत्रको श्वेतपत्र जारी गरी भावी कार्ययोजनालाई मध्यनजर गर्दै ५ वर्षे योजना राष्ट्रिय योजना आयोगबाट भइरहेको जानकारी दिए । उपभोक्तालाई सस्तो, भरपर्दो र गुणस्तरीय विद्युत् उपलब्ध गराउन विद्युत् नियमन आयोग गठन भई काम शुरू भइसकेको उनले बताए ।
विदेशमा भएका ऊर्जासम्बन्ध राम्रा पद्धति अनुशरण गर्दै नेपाली ऊर्जा क्षेत्रले ठूलो फड्को मार्न सक्ने तर त्यसका लागि नेपालको ऊर्जा क्षेत्रमा संरचनात्मक सुधारको आवश्यकता रहेको उनले औंल्याएका छन् ।