
धादिङ – बेनीघाटरोराङ गाउँपालिका–३ सलाङघाटमा भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या ८ पुगेको छ ।
मृतकमध्ये २ जनाको मात्र सनाखत भएको छ । दुर्घटनामा ज्यान गुमाएका १ महिला, १ बालिका र ४ पुरुषको सनाखत हुन सकेको छैन ।
शुक्रवार बिहान सर्लाहीको मलंगवाबाट काठमाडौंतर्फ आउँदै गरेको ना६ख ७४६९ नम्बर बस सडकबाट १०० मिटर तल त्रिशूली नदीमा खसेको थियो ।
प्रहरी उपरीक्षक राजकुमाव वैदवारका अनुसार दुर्घटनामा ३ जनाको घटनास्थलमा र २ जनाको चितवनको मुग्लिङ क्षेत्रमा शव भेटिएको थियो ।
कृष्णभीरमा १ पुरुषको शव तथा चितवनको देवघाटमा २ महिलाको शव भेटिएको थियो । मृत्यु हुनेमा सर्लाहीका ३५ वर्षीय अजय दास र २५ वर्षीय विजय कुर्मीको मात्र सनाखत भएको छ ।
पृथ्वी यायायात समितिमा आवद्ध कृष्ण यातायातको बस अत्यधिक गतिका साथ सलाङस्थित वन क्षेत्रको मोडबाट त्रिशूलीमा खसेको थियो । केही यात्रु पौडी खेलेर त केही भीरमा अड्किएर बाँचेका थिए । दुर्घटनामा घाइते १६ जनाको ट्रमा सेन्टर काठमाडौंमा र बाँकीको अन्य अस्पतालमा उपचार भइरहेको छ । बसमा ४२ यात्रु, चालक र सहचालक सवार थिए ।
दुर्घटनामा २० भन्दा बढी यात्रु अझै हराइरहेको र प्रहरीले खोजी गरिरहेको प्रहरी उपरीक्षक वैदवारले बताए ।