
काठमाडौं– भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले वर्षाका कारण ४५ वटा पुलमा क्षति भएको जानकारी दिएको छ ।
आइतवार बसेको प्रतिनिधि सभाको विकास तथा प्रविधि समितिको बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले सो जानकारी गराएका हुन् ।
उनले बाढीका कारण क्षति भएका पुलहरूको विवरण जानकारी गराउँदै सो पुनर्निर्माणका लागि आवश्यक बजेटको जानकारी समेत गराए ।
उनका अनुसार ४५ वटा पुल पुनर्निर्माणका लागि ४७ करोड रुपैयाँ लागत लाग्नेछ । क्षति पुगेका पुल तथा सडक निर्माणको काम अघि बढिसकेको भन्दै जति सक्दो चाँडो पुनर्निर्माण गरिने उनले बताए ।
समितिले आइतवारको बैठकमार्फत् तीन तहका सरकारबीच आवश्यक समन्वय गरेर बाढीले क्षति पुगेका संरचना जति सक्दो चाँडो बनाउन निर्देशन समेत दिएको छ ।
समितिका सभापति कल्याणी खडकाले संघ, प्रदेश र स्थानीय तहको आवश्यक समन्वयका कारण क्षति पुगेका संरचना पुनर्निर्माणमा ढिलाइ भइरहेको भन्दै समन्वय गरेर जति सक्दो चाँडो निर्माण गर्न निर्देशन दिइन् ।