०३ असार २०८३, बुधबार

झापामा पानीको पिएच परीक्षण

झापामा पानीको पिएच परीक्षण

भद्रपुर – झापामा उत्पादन हुने पानीका लागि खाद्य प्रविधि तथा गुणस्तर विभागले पानीको पिएचको मात्र परीक्षण गरेको छ ।

मंगलवार बिर्तामोडमा ‘पिउने पानीको गुणस्तर ः अवस्था र नियमनको आवश्यकता’ विषयमा भएको  कार्यशालास्थलमै विभिन्न २० ब्राण्डका पानीको नमूना संकलन गरी पानीको नमूनाको पिएच परीक्षण गरिएको हो ।

परीक्षणमा बिर्तामोडबाटै उत्पादित शाश्वत, लाइफ केयर, सुरुङ्गाबाट उत्पादित माईधाम नामक पानीमा पिएचको मात्रा न्यून पाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयका प्रमुख तथा खाद्य अनुसन्धान अधिकृत भरतबहादुर पुरीले बताए ।

उनका अनुसार स्वास्थ्यका दृष्टिकोणले उक्त पानी पिउन अयोग्य रहेको उनको भनाइ छ । पिएचको मात्राको दृष्टिकोणले पिउन सबैभन्दा उत्तम पानी सुनमाई झरना पाइएको थियो । बिर्तामोड खानेपानीसहित  विभिन्न १८ ब्राण्डका पानी झापाबाट उत्पादित र अन्य दुई बाहिर उत्पादन भई झापाको बजारमा आउने पानीको समेत पिएच परीक्षण गरिएको हो ।

संवाद समूह झापा र राष्ट्रिय उपभोक्ता मञ्चको संयोजन तथा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयको प्राविधिक सहयोगमा उक्त परीक्षण गरिएको थियो । उपभोक्ता हित संरक्षणका लागि पिउने पानी गुणस्तरीय, स्वस्थ हुनुपर्ने यथार्थ आत्मसात गर्दै स्वस्थ र गुणस्तरीय पिउने पानी उत्पादन तथा बिक्री वितरण गर्न सरोकारवालाले प्रतिबद्धता जनाएका छन् । 

के हो पिएच ? 

पानीमा अम्लीय र क्षारीयपनको मात्रालाई पिएच भनिन्छ । नेपाल गुणस्तरले ६ देखि ८ दशमलव ५ पिएचसम्मको पानीलाई पिउन योग्य भनेको छ तर अन्तर्राष्ट्रिय गुणस्तरले ६ दशमलव ५ देखि ८ दशमलव ५ पिएचसम्मको पानीलाई पिउनयोग्य मानेको छ । पानीमा ७ पिएच सबैभन्दा उत्तम मानिन्छ । ६ पिएचभन्दा तलको पानीलाई अम्लीय अर्थात् एसिडिक भनिन्छ । 

८ दशमलव ५ पिएचभन्दा माथिको पानीलाई क्षारीय अर्थात् अल्कालाइन भनिन्छ । नेपालमा उत्पादित धेरै पानीमा पिएचको मात्रा न्यूनतमभन्दा कम रहेको बताइन्छ । ६ पिएचभन्दा कमको पानी पिउँदा मानव स्वास्थ्यमा गम्भीर समस्या उत्पन्न हुने र दीर्घरोग लाग्ने मेची बहुमुखी क्याम्पस रसाइन शास्त्रका उपप्राध्यापक जयनारायण मित्रुकाले बताए ।

salt training

कमेन्ट गर्नुहोस्