३० जेठ २०८३, शनिबार

अवैधरूपमा बालुवा निकासी गर्ने ट्रयाक्टर प्रहरी नियन्त्रणमा

अवैधरूपमा बालुवा निकासी गर्ने ट्रयाक्टर प्रहरी नियन्त्रणमा
फाइल फोटो

खोटाङ – जिल्ला प्रहरी कार्यालय खोटाङले नदीबाट अवैधरूपमा बालुवा निकासी गरिरहेको अवस्थामा सात ट्रयाक्टर नियन्त्रणमा लिएको छ । 

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने रावाबेंसी गाउँपालिका–३ लामीडाँडाको रभुँवास्थित दूधकोशीको बालुवा निकालेर दिक्तेलतर्फ ल्याउँदै गरेको अवस्थामा प्रहरीले बुधवार नुनथलाबाट ७ ट्रयाक्टर नियन्त्रणमा लिएको हो ।

बालुवा लिएर आउँदै गरेको अवस्थामा प्रहरीले ना४त ९१७२, को२त ८२३८, ना४त ९६५५, ना५त ६६८३, को२त १३८४ र को१त ३८१२ नम्बरको ट्रयाक्टरसहित चालकलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायब उपरीक्षक वामदेव गौतमले बताए ।

स्थानीयले दिएको सूचनाको आधारमा बालुवा निकासी गर्ने ट्रयाक्टर र चालकलाई प्रहरी चौकी नुनथलाले नियन्त्रणमा लिएको हो ।

रावाबेंसी गाउँपालिका–३ लामीडाँडा वडा कार्यालयलाई प्रतिट्रयाक्टर ५०० रुपैयाँ राजस्व बुझाएको रसिद हुँदाहुँदै प्रहरीले बालुवा नियन्त्रणमा लिएको निकासीकर्ताले आरोप लगाएका छन् । जुनसुकै खोला तथा नदीबाट असारदेखि भदौको बीचमा ढुंगा, गिट्टी, बालुवालगायत निर्माण सामग्री उत्खनन गर्न नपाइने नेपाल सरकारको नियमानुसार ट्रयाक्टर नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

प्रहरीले नियन्त्रणमा लिएको ट्रयाक्टरलाई जिल्ला समन्वय समितिका प्रमुखको संयोजकत्वमा गठित जिल्ला अनुगमन समितिलाई बुझाइएकोे छ । ७ मध्ये १ ट्रयाक्टर भने प्रहरी चौकी नुनथलाकै नियन्त्रणमा राखिएको जनाइएको छ ।

ट्रयाक्टर चालकलाई भने सवारी चालक अनुमतिपत्र र सवारी दर्ता प्रमाणपत्र राखेर छाडिएको छ । वातावरणीय प्रभावकारी मूल्यांकन नगरी बालुवा निकासी गरेको पाइएकाले प्रहरीले ट्रयाक्टर र बालुवा जफत गरिएको जिल्ला समन्वय समितिका प्रमुख एवम् अनुगमन समितिका संयोजक बबि चाम्लिङले बताए ।

जिल्लाको दूधकोशीको रभुँवाघाट, जयराम, लुलीमा, हात्तीटार, सुनकोशीको बतासेघाट, फोक्सिङटार लगायतका क्षेत्रबाट वातावरणीय प्रभावकारी मूल्यांकन नगरी अनियन्त्रित तरिकाले दैनिक ढुंगा, गिट्टी, बालुवा निकाल्ने काम भइरहेको छ ।

रावाखोला, साप्सुखोलाका विभिन्न खोलाबाट समेत गिट्टी, बालुवा निकासी भइरहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्