३१ असार २०८३, बुधबार

फराकिलो हुँदै नाट्य क्षेत्र, थिएटरमा भविष्य खोज्दै युवा कलाकार

कात्तिक २०, २०७४
 फराकिलो हुँदै नाट्य क्षेत्र, थिएटरमा भविष्य खोज्दै युवा कलाकार
काठमाडौं, १६ चैत  - नेपालमा लिच्छवीकालदेखि नै नाटकको शुरुवात भएको मानिन्छ । मल्लकालसम्म आइपुग्दा गाईजात्रा, घोडेजात्रा तथा अन्य कार्यक्रममा प्रस्तुत गरिने नेपाली नाटकले नेपाली नाट्य परम्परालाई अगाडि बढाउन मद्दत गरेको पाइन्छ ।

नाटक भृकुटीमा अभिनय गर्दै कलाकार
मौलिक नाटकबाट शुरु हुँदै आएको नाटक भने पछिल्लो समयमा व्यावसायिक रूपमा पनि सक्रिय छ । राणाकालीन समयमा समेत एउटा घेराबन्दीमा रहेको नाटक बिस्तारै देशमा विकास हुँदै अगाडि बढेको देखिन्छ ।
सात सालको क्रान्तिपछि पनि नाट्यकर्मीले चाहेअनुसारका नाटक मञ्चन हुन नपाएको पाइन्छ । तत्कालीन समयमा पनि रेडियो नाटक तथा सडक नाटकका माध्यमबाट नाटक मञ्चन भइरहेको पाइन्छ ।

पछिल्लो पुस्ताले भने नाटकमा मौलिकतासँगै व्यावसायिकतालाई पनि जोडेको पाइन्छ । नेपाली नाटक बिस्तारै आम जनताको ‘भावनाको ऐना’ भएको छ ।

व्यावसायिक रूपमा नाटकको विकास तुलनात्मक रूपमा राम्रो भएपनि नेपाली समाजले अझै पनि नाटकलाई जीवनको एक हिस्साका रूपमा लिन सकेको छैन । युरोप तथा अन्य देशमा नाटकलाई जिन्दगीको पर्यायका रूपमा हेरिन्छ । आफ्नो महत्त्वपूर्ण समयको केही हिस्सा नाटकका लागि छुट्ट्याउँछन् केही नागरिकले ।

अनामनगरको मण्डला थिएटरमा नाटकघर सञ्चालन गर्दै आएका नाट्यकर्मी तथा निर्देशक राजन खतिवडालाई नेपाली नाटकको स्तर वृद्धि भएको अनुभव छ । ‘पहिलेभन्दा अहिले नाटकले धेरे दर्शक पाएपनि हाम्रा दर्शक अझै पनि थिएटरमा आउन सकेका छैनन् ।’

उनी थप्छन्, ‘युरोपतिर निश्चित जनसंख्या भएको बस्तीमा एउटा नाटकघर खोल्ने प्रचलन छ । काठमाडौंको यति ठूलो जनसंख्यामा पनि भएका नाटकघर राम्ररी चल्न सकेका छैनन् ।’

खतिवडा भन्छन्, ‘अरू राष्ट्रमा परिवार तथा विद्यालयले नै नाटक हेर्नका लागि प्रेरित गर्छ । त्यो स्थिति नेपालमा अझै बनिसकेको छैन ।’

छिमेकी राष्ट्र भारतमा समेत नाटक हेर्ने परम्पराको विकास धेरै पहिले भएको पाइन्छ । भारतमा नाटक क्षेत्रकै लागि भनेर राष्ट्रले कराडौं रकम विनियोजन गर्छ । ‘नाटकले आफ्नो कला, संस्कृति र रचनामा ठूलो भूमिका खेल्छ भन्ने भारतले बुझेको छ,’ खतिवडा भन्छन्, ‘विश्वका धेरैजसो देशले कलाक्षेत्रमा ठूलो लगानी गरेका छन् ।’
तर नेपालमा भने नाट्य क्षेत्रलाई सरकारले सहयोग गरेको पाइँदैन ।

केही समयअघि आरोहण गुरुकुलले शुरु गरेको व्यावसायिक नाटकलाई अहिले भने धेरैले पिछा गरिसकेका छन् । राजधानी मात्र होइन, राजधानीबाहिरका अन्य शहरमा पनि नाटकघर बन्न थालेका छन् ।

पर्यटकीय शहर पोखरामा समेत दुई नाटकघर निर्माणाधीन छन् । वर्षदिनअघि नै काम शुरु गरेको युथ क्रिएसन थिएटरको नाटकघरसँगै अर्को ‘पोखरा थिएटर’ पनि बन्ने क्रममा छ ।

पोखरामा मात्र होइन, नेपालका अन्य शहरमा समेत नाटकघर निर्माणको प्रवृत्ति विकास भएको छ । ‘हामीले निर्माण गर्न लागेको हल व्यक्तिगत लगानीमा बन्न लागेको हो ।’

पोखरामा निर्माण हुन लागेको पोखरा थिएटरका अध्यक्ष समेत रहेका परिवर्तन बताउँछन्, ‘नाटकमा पनि व्यावसायिक नाटक शुरु भइसकेकाले हामीले नाटकघर निर्माण गर्न लागेका हौं,’ उनी भन्छन् ।

स्वस्थ प्रतिस्पर्धाले नाटकघर बन्दै जानु सकारात्मक पक्ष भएको परिवर्तन बताउँछन् ।

पछिल्लो समय चलचित्र क्षेत्रमा थिएटरका कलाकारको अभिनयलाई दर्शकले रुचाएका छन् । पछिल्लो पुस्तामा देखिएका सौगात मल्ल, दयाहाङ राई, बुद्धि तामाङ, नाजिर हुसेन लगायतका कलाकार नाटकबाट फिल्म क्षेत्रमा आउनु र यिनै कलाकारले चर्चा कमाउनुले पनि युवापुस्ताको समेत नाटक क्षेत्रमा नाटकको विकास भएको देखिन्छ ।

थिएटरबाट नाटकमा आएका धेरैजसो कलाकारले दर्शकको मन जित्ने गरेकाले पनि अहिले नाटककै माध्यमबाट फिल्ममा स्थापित हुने कतिपय कलाकारको सपना समेत हुने गर्दछ ।

नाट्यकर्मीहरू सिनेकर्मीको तुलनामा ओझेलमा परेका भएपनि नाटकको आफ्नै संसार छ । शक्ति छ ।
काठमाडौंको कालिकास्थानमा अभिनयकै आम्दानीबाट नाटकघर निर्माण गरेका वरिष्ठ रंगकर्मी अशेष मल्ल अभिनयबाट आफूले पाउने सन्तुष्टि करौडौं रकम तिर्दा पनि पाउन नसकिने बताउँछन् । मल्ल थिएटरको यात्रा साँच्चिकै गाह्रो भएको समेत अनुभव सुनाउँछन् ।

‘विश्व इतिहासमा थिएटरको यात्रा धेरै गाह्रो छ । अझै पनि प्रायोजक खोजेर नाटक गर्ने स्थिति छ तर जीवनभर प्रायोजक खोज्न सम्भव छैन,’ उनी भन्छन्, ‘नाट्य क्षेत्र आज फल रोपेर भोलि फल्ने रुख होइन, जोखिमलाई आत्मसात गरेर यो क्षेत्रमा आउने कलाकार मात्र टिक्न सक्छन् ।’

चालीसको दशकपछि केही समय ओझेलमा परेको नाट्यक्षेत्र अहिले भने बिस्तारै मौलाउँदै गइरहेको छ । नाटकमा दर्शकको रुचि बढ्दै गएको छ । थिएटर घरमा नाटक हेर्ने दर्शक मात्र होइन, नाटकमा भविष्य खोज्ने सयौं कलाकार पनि यस क्षेत्रमा होमिएका छन् ।

रंगकर्मी सुनील पोखरेलले शुरु गरेको व्यावसायिक नाटकलाई पछ्याउँदै अहिले लगभग आधा दर्जन थिएटर हलमा नाटक मञ्चन भइरहेका छन् । केही दशकमा नै मोफसल र राजधानीमा सक्रिय नाट्यकर्मीले नेपाली नाट्य परम्परालाई अझ फराकिलो बनाउने सम्भावना बढ्दै गएको छ ।

salt training

कमेन्ट गर्नुहोस्