३० असार २०८३, मंगलबार

पोखरामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरू

पोखरामा राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरू

कास्की – पोखरामा शनिवारदेखि राष्ट्रिय महिला भलिबल प्रतियोगिता शुरू भएको छ ।

नवआदर्श सामुदायिक विकास समाज पोखरा महानगरपालिका–१९ लामाचौरको आयोजनामा सञ्चालन भइरहेको तीज महोत्सवको प्रमुख आकर्षणको रूपमा रहेको प्रतियोगिताको राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले उद्घाटन गरे ।

प्रतियोगिताअन्तर्गत शनिवारको खेलमा गण्डकी प्रदेश र यू–डाइमण्ड काठमाडौं एकेडेमी विजयी भएका छन् ।

गण्डकी प्रदेशले पारामाउण्ट इङ्लिस बोर्डिङ स्कूल काठमाडौंलाई २५–१४, २५–११, २५–१५ को सोझो सेटमा पराजित गरेको थियो । यू–डाइमण्डले चितवन टाइगर्स क्लबलाई २५–१४, २५–२०, २५–१४ को सोझो सेटमा पराजित गरेको थियो । प्रतियोगितामा ६ टिमको सहभागिता रहेको छ ।

सो अवसरमा सदस्यसचिव सिलवालले प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरको बनाउनुपर्नेमा जोड दिँदै छात्रा भलिबलमा अब अन्तर्राष्ट्रियस्तरकै प्रतियोगिता हुनुपर्ने बताए ।

भदौ १६ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विजेता टोलीलाई १ लाख १५५, उपविजेतालाई ६५ हजार ५ तथा तृतीयलाई २५ हजार ५, शिल्ड, मेडल र प्रमाणपत्र वितरण गरिने महोत्सवका प्रचारप्रसार संयोजक बुद्धिबहादुर खत्रीले जानकारी दिए ।

महोत्सवमा शनिवार सम्पन्न भएको गण्डकी प्रदेशस्तरीय सितेरियो कराँते प्रतियोगितामा गोर्खा जिल्ला प्रथम भएको छ । प्रतियोगितामा गोर्खाले ६ स्वर्ण, १ रजत र ३ कास्य पदकसहित प्रथम भएको कास्की जिल्ला सितेरियो कराँते संघका सुरेन्द्र गुरुङले जानकारी दिए ।

२ स्वर्ण, ३ रजत र ५ कास्य पदकका साथमा कास्की दोस्रो र ३ स्वर्ण, १ रजत र ५ कास्य पदकको साथमा तनहुँ तेस्रो भएका छन् । प्रतियोगितामा १० जिल्लाका १ सय २०  खेलाडी सहभागी भएका थिए । विजेता खेलाडीलाई सदस्यसचिव सिलवालले पुरस्कार वितरण गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्