०३ असार २०८३, बुधबार

तीजको अवसरमा राष्ट्रपतिदेखि दलका नेतासम्मको शुभकामना

तीजको अवसरमा राष्ट्रपतिदेखि दलका नेतासम्मको शुभकामना

    काठमाडौँ–राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली नारीहरूको महान् पर्व हरितालिकाको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, आपसी एकता, पारिवारिक सद्भाव एवम् सुस्वास्थ्य र दीर्घ जीवनको शुभकामना व्यक्त गर्नुभएको छ । 

    राष्ट्रपतिले आज शुभकामना सन्देश जारी गरी सांस्कृतिक सहिष्णुता र सामाजिक एकताको प्रतीकका रुपमा रहेको तिज पर्वमा नेपाली नारीहरुले आफ्नो सौभाग्य र परिवारजनको समृद्धिका लागि ब्रत बसेर शिव–पार्वतीको पूजा आराधना गर्ने प्रचलन रहिआएको स्मरण गर्दै यस्ता पर्वले नेपालीलाई एकताको सूत्रमा आबद्ध गर्दै धार्मिक सहिष्णुता तथा सद्भाव कायम गर्नुका साथै एकापसमा खुसी साटासाट र मनोरञ्जनकोे अवसरसमेत प्रदान गर्दै आएका बताउनुभएको छ । 

    सन्देशमा उहाँले नेपाली मौलिक संस्कृति सम्वर्धन गर्दै संस्कारयुक्त आदर्श सामाजिक वातावरण तयार गर्न र सदाचार जीवन शैली अपनाउन यस्ता चाडपर्वहरुको गरिमालाई सम्मानजनक बनाई राख्नु आजको आवश्यकता भएको बताउनुभएको छ । 

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले महिलाको पर्व हरितालिका (तीज)को अवसरमा सम्पूर्ण नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्दै यस चाडले आपसी सम्बन्ध प्रगाढ बनाउँदै महिला अधिकारलाई अझैमाथि उठाउने विश्वास व्यक्त गर्नुभएको छ ।

    आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधतायुक्त धर्मनिरपेक्ष राष्ट्र भएको विविधतायुक्त संस्कृतिले मुलुक धनी रहेको स्मरण गर्दै यहाँ मनाइने सबैखाले मौलिक चाडपर्वले आपसी सद्भाव, सहिष्णुता, भाइचारा र राष्ट्रिय एकतालाई प्रवद्र्धन गर्दै आइरहेको बताउनुभयो । 

    “हरितालिका तीज पर्वले दिदीबहिनी र आम नेपालीका बीच आपसी सद्भाव, सहिष्णुता, भाइचाराको अभिवृद्धि गर्दै महिला अधिकारलाई अझैमाथि उठाउनेमा विश्वस्त छु ।” उहाँले शुभकामना सन्देशमा उल्लेख गर्नुभएको छ । 

    “नेपाल राष्ट्रको निर्माण र नेपाललाई विश्वसामु परिचित गराउन नेपाली महिलाको योगदान अत्यन्त ठूलो छ, विभिन्न कालखण्डका क्रान्ति तथा सङ्घर्षमा पु¥याउनु भएको योगदानको उच्च सम्मान गर्दै यस अवसरमा आन्दोलनबाट प्राप्त उपलब्धिप्रति गौरव गर्न सम्पूर्ण दिदीबहिनीमा आग्रह गर्दछु”, सन्देशमा भनिएको छ । 

    उहाँले नेपाली संस्कृतिको महत्वपूर्ण पाटोको रुपमा रहेको हरितालिका तीजलगायतका हाम्रा चाडपर्वहरु मनाउने शैलीमा केही सकारात्मक सुधारको खाँचो रहेको औँल्याउँदै उहाँले  स्वास्थ्यलाई ख्याल गर्दै तीज मनाउन आग्रह गर्नुभएको छ । 
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली महिलाको महान् पर्व हरितालिका तीज महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्व रहेको बताउनुभएको छ । उहाँले हरितालिका (तीज)को अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गनुभएको छ ।  

नेपाली महिलाले विगतमा कष्टकर सामन्ती संस्कार र कैयन कुचलनको बोलवाला रहेका बेला वा समानताको मान्यता स्थापित नभएको परिवेशमा समेत तीजलाई थोरै भए पनि राहतको अनुभूति गराउने पर्वका रुपमा मनाउने गरेको प्रधानमन्त्री ओलीले स्मरण गर्नुभएको छ । “नेपालको सकारात्मक सांस्कृतिक परम्परामा महिला मुक्ति र स्वतन्त्रताको भावना मुखरित गर्ने पर्वका रुपमा तीजको विशेष महत्व छ,” तीजका अवसरमा प्रधानमन्त्रीले जारी गर्नुभएको शुभकामना सन्देशमा भनिएको छ । नेपाली महिलालगायत समाजमा लामो समयसम्म आर्थिक–सामाजिक अवसरबाट वञ्चित सबैका लागि सारभूत समानताको प्रत्याभूति गर्दै जननिर्वाचित संविधानसभाबाट निर्माण गरिएको संविधानलाई कार्यान्वयन गर्दै पर्याप्त कानूनहरु बनिसकेको उल्लेख गर्दै उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालमा महिलाको नागरिक तथा राजनीतिक अधिकारहरुको प्रयोगको अवस्था विश्वमा नै गौरव गर्न लायक रहेको पनि बताउनुभएको छ ।

“राजनीतिकलगायत समाजका अन्य क्षेत्रमा नेपाली महिलाको उपस्थिति उल्लेखनीय रहेको छ, महिलाको प्रतिनिधित्व संसद्मा ३३ प्रतिशत र स्थानीय तहमा करीब ४१ प्रतिशत पुगेको छ भन्ने तथ्यले प्रत्येक नेपालीलाई गौरवानुभूति हुने गरेको छ,” प्रधानमन्त्रीको शुभकामना सन्देशमा भनिएको छ । प्रधानमन्त्री ओलीले नीति निर्माणको तहमा महिलाहरुको यस प्रकारको उपस्थितिले आउँदा दिनहरुमा महिला र पुरुषबीच सारभूत समानताका व्यवस्था अझ सुदृढ हुने विश्वास व्यक्त गर्नुभएको छ । 

प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले हिन्दू नारीको पर्व हरितालिका (तीज), पारिवारिक मिलन र सामाजिक सद्भावको पर्व भएको बताउनुभएको छ । 

    तीजको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै पोखरेलले स्वदेश तथा विदेशमा रहनुभएका समस्त महिला दिदीबहिनीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्दै युगौँदेखि मानिँदै आएको यो पर्वले नेपालमा सामाजिक र राजनीतिक जागरण ल्याउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो । 

    “जहाँनिया राणा शासन, निरङ्कुश पञ्चायती व्यवस्था र शाही शासनको कठिन अवस्थामा नेपाली महिलाले गरेको सङ्घर्ष र यो सङ्घर्षमा तीज पर्वको महत्वका बारेमा विशेष स्मरण गर्दछु”, पोखरेलले जारी गर्नुभएको सन्देशमा भनिएको छ । 

    “जनाधिकार कुण्ठित भएको ती कठिन दिनमा महिलाले तीज गीतमार्फत तत्कालीन राज्यव्यवस्थाविरुद्ध जनमत बलियो बनाउन निकै ठूलो भूमिका खेलेको सबैका सामु छर्लङ्ग छ, तीज पर्वमार्फत राजनीतिक जागरण ल्याएर नागरिकलाई सङ्गठित गर्दै आन्दोलनलाई उत्कर्षमा पु¥याउँदै अहिलेको परिवर्तन सम्भव भएको हो”, सन्देशमा उल्लेख छ । 

    जनचाहना र जन आकाङ्क्षाअनुसार परिवर्तनलाई संस्थागत गर्ने अभियानमा  तीज पर्वले सार्थक भूमिका खेल्ने अपेक्षा लिएको बताउँदै पोखरेलले राज्यको माथिल्लो तहदेखि तल्लो तहसम्मका सबै संरचनामा महिलाको समानुपातिक प्रतिनिधित्वको व्यवस्था गरेर नेपालको संविधान विश्वमै नमूना बनेको स्मरण गर्नुभएको छ ।

    “महिलासम्बन्धी विभिन्न हकलाई संविधानले मौलिक हकका रुपमा व्याख्या गरेको छ, संविधानमा व्यवस्थित हक अधिकारको उपभोग गर्दै जाँदा केही वर्षमै व्यवहारिक रुपमा नतिजा देखिने छ, विगतका सङ्घर्षबाट प्राप्त उपलब्धिको सही प्रयोग गरेर समतामूलक र समावेशी नेपाली समाज निमार्णको अभियानमा  सबै जुट्न म हार्दिक अपिल गर्दछु”, मुख्यन्त्री पोखरेलले सन्देश उल्लेख गर्नुभएको छ  ।

    उहाँले हरितालिका (तीज) पर्व पारिवारिक मिलन गराउने र सामाजिक सद्भाव बढाउने पर्व भएको भन्दै पारिवारिक र सामाजिक सामिप्यता बढ्दा मुलुकमा विश्वासको बातावरण बन्ने र राष्ट्रिय एकता र मेलमिलाप बढाउन मद्दत मिल्ले बताउनुभएको छ ।

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले हिन्दू नारीहरुको विशेष पर्व हरितालिका (तीज)ले सम्पूर्ण महिलालाई एकताबद्ध भएर अगाडि बढ्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभएको छ । 

तीजको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै उहाँले सम्पूर्ण नेपाली दिदीबहिनीमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ । नेपाल जस्तो बहुसांस्कृतिक, बहुधार्मिक तथा बहुजातीय देशमा मनाइने विभिन्न चाडपर्वले आम नेपालीलाई एक सूत्रमा बाँध्न सहयोग गर्ने अपेक्षा लिएको अध्यक्ष तिमिल्सिनाले बताउनुभयो । 

“चाडपर्वहरु मनाउँदा मौलिकतालाई जगेर्ना गर्दै निरन्तरता दिनु आवश्यक छ, तीजको पनि आफ्नै मौलिकता रहेको छ, तीज लक्षित गीतले समाज परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्दै आएको स्मरण गर्न चाहन्छु”, अध्यक्ष तिमिल्सिनाद्वारा जारी सन्देशमा उल्लेख छ । उहाँले चाडपर्वहरु मनाउँदा भित्रिन सक्ने सामाजिक विकृतिप्रति सचेत हुँदै खर्चमा मितव्ययिता अपनाउन र पारिवारिक मिलन तथा सामाजिक सद्भाव बढाउने गरी पर्व मनाउन अनुरोध गर्नुभएको छ । 
यस्तै काँग्रेस सभापति शेरबहादुर देउवा, नेकपा अध्यक्षम प्रचण्डलगायतका विभिन्न दलका नेताले पनि तीजको अवसरमा शुभकामना दिएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्