
काठमाडौं – सन् १९९० मा भारतको जासूसी संयन्त्र रिसर्च यान्ड एनालाइसिस विङ (रअ) ले नेपालमा निरंकुश राजतन्त्र अन्त्यका लागि गोप्य कारवाही चलाएको खुलासा हालै प्रकाशित एक पुस्तकमा गरिएको छ । डीएनए इन्डियामा प्रकाशित एक समाचारमा यसको उल्लेख छ ।
रअका पूर्व विशेष निर्देशक अमर भूषणको पुस्तक इन्साइड नेपालमा संवैधानिक राजतन्त्रको बाटो खोल्नका लागि रअले कारवाही चलाएको लेखिएको छ । रअका जासूसहरूले नेपाललाई शत्रु बलहरूले अस्थिर नबनाऊन् भनी दृढनिश्चय गरेको पुस्तकमा लेखिएको छ ।
रअको जासूसी संयन्त्रले फरक विचारधाराका दलहरूबीच एकतालाई सुनिश्चित गरेको मात्र नभई नेपालमा अत्यन्तै गोपनीयताका साथ कारवाही चलाउन जासूसहरू खटाएको थियो । भूषणले चीफ अफ ईस्टर्न ब्यूरो अफ रअको प्रमुखका लागि जीवनाथन नाम दिएका थिए । त्यतिखेर कमजोर रहेको इकाइलाई जीवनाथनले मजबूती दिएका थिए । उक्त इकाइले राजा वीरेन्द्रको शासन अन्त्य गर्नका लागि जासूस नियुक्त गरेर काममा लगाएको थियो ।
त्यसपछि राजीव गान्धीको सरकारले नेपालमा उठेको जनआन्दोलनलाई समर्थन गर्ने निर्णय लियो । राजालाई दबाब दिनका लागि गरिएका अनेकौं कूटनीतिक प्रयास सफल भएनन् । अन्ततोगत्वा भारत सरकारले खाद्य सामग्रीहरूमा नाकाबन्दी लगाएर राजालाई प्रजातन्त्रको घोषणा गर्न बाध्य बनायो ।
त्यसैबेलामा राजाले भारतको प्रभावलाई कमजोर तुल्याउन चीनको सहायता मागे । भारतका लागि यो खतरनाक स्थिति थियो किनकि भारत आफ्नो छिमेकमा चिनियाँ पाइला नपरोस् भन्ने चाहन्थ्यो । अन्ततोगत्वा रअ प्रमुख एके वर्मालाई नेपालमा प्रजातन्त्र ल्याउनका लागि खटाइयो । उनले आफ्ना सबभन्दा उम्दा जासूस जीवनाथनलाई नेपालमा कारवाही चलाउन पठाए ।
जीवनाथनका लागि निकै मुश्किल काम थियो किनकि रअको ईस्टर्न ब्यूरोलाई यसअघि कहिले पनि प्राथमिकता दिइएको थिएन । जीवनाथनले तत्कालै नेपालमा कारवाही चलाए अनि रअ प्रमुखलाई उनले कूटनीतिज्ञहबाट हुन नसकेको काम फत्ते गर्ने प्रतिबद्धता जनाए ।
पुस्तकमा रअले सशस्त्र द्वन्द्व चलिरहँदा माओवादी नेता पुष्पकमल दाहाल प्रचण्डलाई अन्य राजनीतिक दलसँग मिलेर राजतन्त्रविरुद्ध लड्नका लागि मनाउन निकै समय खर्च गरेको खुलासा गरिएको छ । प्रचण्ड पछि नेपालका प्रधानमन्त्री बन्न पुगे ।
माओवादी नेता प्रचण्ड लुकेको ठाउँमा अनेकौं महिनासम्म कैयौं चरणको बैठक गरेपछि रअले बल्ल उनलाई फकाउन सकेको थियो । प्रचण्डलाई रअको निहित उद्देश्यका विषयमा शंका थियो र एक बैठकमा उनले जीवनाथनसँग प्रश्न पनि उठाए– ‘हामीलाई राजाले शासन गरे पनि हामी प्रजातन्त्रमा बसे पनि तपाईंहरूलाई किन यति चासो ?’
जीवनाथनको कारवाही सकिएपछि नेपालका राजनीतिक नेताहरू जीवनाथनलाई खोज्न थाले तर उनी जासूसीको दुनियाँमा कतै हराइसकेका थिए । उनले नियुक्त गरेका मानिसहरूलाई उनले एउटा सन्देश पठाएका थिए– मेरो अस्तित्व छैन भन्ठान्नू ।