३० जेठ २०८३, शनिबार

विश्वमा नेपालका नेताहरूको माग बढ्दो छ : परराष्ट्रमन्त्री ज्ञवाली

भदौ २७, २०७६
विश्वमा नेपालका नेताहरूको माग बढ्दो छ : परराष्ट्रमन्त्री ज्ञवाली

बुटवल – परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली नेपालको छवि विश्व समुदायमाझ नयाँ उचाइमा पुगेको बताएका छन् ।

असल छिमेकी सम्बन्ध कायम गर्दै मुलुक अगाडि बढ्दै गरेकाले विश्वसामु नेपालको छवि, रूचि र आकर्षण बढ्दै गएको दाबी गरे । 

प्रेस संगठन नेपाल रूपन्देहीले शुक्रबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री ज्ञवालीले भने, ‘नेपालको छिमेकी देशहरूसँगको सम्बन्ध गुणात्मक रूपमा अगाडि बढेको छ । अन्य देशहरूले नेपालले पनि भनाइ/आवाजलाई सुनुवाइ गर्न थालेका छन् । नेपालका नेताहरूको पनि खोजी बढ्दो छ । यसले प्रष्ट हुन्छ देशको छवि बढ्दो छ ।’

नेपालको चीन र भारतसँगको सम्बन्ध समान भएको बताए । ‘हामी असल छिमेकी सम्बन्ध निर्माण गरेर अगाडि बढेका छौं । चीन र भारतसँग विकासमा हामी साझेदारी गरेर अगाडि बढ्छौं । दुवै देशसँग हाम्रो आर्थिक साझेदारी रहन्छ,’ ज्ञवालीले भने, ‘मुलुकले कहिल्यै नाकाबन्दीको सामाना गर्नु पर्दैन ।’

चिनियाँ विदेश मन्त्रीको नेपाल भ्रमण पूर्ण रुपमा फलदायी रहेको बताए । सरकार बढीभन्दा बढी अन्तर्राष्ट्रिय सम्बन्ध स्थापना गर्ने लक्ष्यका साथ अगाडि बढेको बताए । सरकारले केही गरेन भनेर निराशा हुनुपर्ने अवस्था मुलुकमा नरहेको परराष्ट्रमन्त्री ज्ञवालीले स्पष्ट पारे । 

‘राम्रा कामको प्रचारप्रसार हुन नसक्दा केही धमिलो पानीमा मार्छा मार्न पल्केका तत्वले सरकारप्रति नकारात्मक प्रचार गरेको छ तर त्यस्तो अवस्था छैन,’ मन्त्री ज्ञवालीले भने ।

देशमा ७.१ प्रतिशतको आर्थिक वृद्धिदर हुनु सामान्य कुरा नभएको ज्ञवालीको भनाइ छ । ‘देशमा परिर्वतन भएका छन् । विकास भएको छ । समृद्धिको बाटो कोरिएको छ । ज्ञवालीले सरकारले ५ वर्षे कार्यकाल पूरा गर्दा मुलुक अल्पविकसित देशबाट विकसित राष्ट्र बन्ने बताए । ‘हामी अब जनतासँग जोडिनको लागि नयाँ अभियानका साथ आउँदैछौं । पार्टी र सरकारले गरेका काम जनतालाई स्पष्ट रुपमा बुझाउँछौं,’ उनले थपे । चिनियाँ राष्ट्रपति नेपाल आउन अहिले उपयुक्त समय रहेको उनले बताए । 

उनले नेपाल भारत सीमा व्यवस्थित गर्ने काम भइरहेको बताए । खुला सीमानाको दुरुपयोग भइरहेको भन्दै त्यसलाई व्यवस्थित गर्ने काम सरकारले गरिरहेको बताए । उनले भारततर्फका ८ हजार ५ सय ५७ पिल्लर व्यवस्थित बनाउन सरकारले काम गरिरहेको बताए । 

‘मुलुकमा भ्रष्टाचार कम हुँदै गएको मन्त्रीले दाबी गरे । कमाइ बढी हुने कार्यालयमा कर्मचारी जान मान्दैनन् । यसले के अर्थ लाग्छ भने भ्रष्टाचारका प्वालहरू क्रमशः पुरिँदै गएका छन् तर पूर्ण रुपमा नियन्त्रण भएको छैन,’ ज्ञवालीले भने । ज्ञवालीले पार्टी एकीकरणका आधारभूत कामहरू सबै सकिएको बताए । 

salt training

कमेन्ट गर्नुहोस्