२१ असार २०८३, आइतबार

५ महिनाकी गर्भवती १० दिनदेखि बेपत्ता

५ महिनाकी गर्भवती १० दिनदेखि बेपत्ता

पर्वत – जिल्लाको कुश्मा नगरपालिका–१ पाङ माइती भई म्याग्दीको बेनी नगरपालिका–८ मा बिहेबारी गरेकी एक गर्भवती विगत १० दिनदेखि बेपत्ता भएकी छन् । 

स्थानीय शंकर रत्नकी १८ वर्षीया मनिषा रत्न परियार भदौ १८ गते रातिदेखि म्याग्दी सदरमुकाम बेनी बजारमा रहेको घरबाटै बेपत्ता भएकी हुन् ।

भदौ १२ गते हरितालिका तीजका लागि माइतीमा आएकी परियार स्वास्थ्यमा समस्या देखिएपछि १८ गते घर फर्किएकी थिइन् । घर फर्किएको साँझ ७ः३० बजेदेखि सम्पर्कविहीन भएको उनका पति शंकर रत्नले जानकारी दिए ।

माइत आएकी छोरीलाई पेट दुख्ने, स्वास फेर्न गाह्रो हुने समस्या देखिएपछि मनिषाकी आमा सिर्जना र ठूलो बाबु विकास परियारले १८ गते साँझ ५ बजे घर पुर्‍याएर फर्किएका थिए । आफू फर्किएर पाङ आइपुगेपछि छोरीको स्वास्थ्य अवस्था बुझ्न राति ७ः३० बजेको समयमा फोन गर्दा पतिले उठाएको र त्यसपछि साँझदेखि नै छोरी सम्पर्कमा नआएको सिर्जनाले बताइन् ।

उनका अनुसार घरमा पटक–पटक छोरीलाई मानसिक यातना दिने गरेको र भदौ १५ गते दर खाँदाको दिन राति पति शंकरले फोन गरेर गाली गरेको आरोप छ । मनिषाले ४ वर्षअघि भागेर शंकरसँग प्रेम विवाह गरेको बताइएको छ । राति खाना खाएपछि घरबाट कपडा सिलाउनका लागि निक्किएको स्थानीयले बताउने गरेको प्रहरीले जनाएको छ । 

जिल्ला प्रहरी कार्यालय म्याग्दीले बेपत्ता बनेकी मनिषाको खोजी कार्य भइरहेको जनाएको छ । जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी निरीक्षक ध्रुवप्रसाद शर्माले बेपत्ता महिलाको खोजी कार्य तीव्र पारिएको भएपनि हालसम्म कुनै पत्ता नलागेको जानकारी दिए ।

उनले घरपरिवारलाई बोलाएर सोधपुछ गर्नेदेखि लिएर सम्भावित सबै ठाउँमा खोजी गर्दा पनि पत्ता लगाउन नसकिएको र खोजी कार्य अझै जारी रहेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्