काठमाडौं – पाकिस्तानको सिन्ध प्रान्तमा हिन्दू युवती निम्रिता कुमारीको मृत्युपछि यसनका लागि न्यायको माग बढेको छ । सामाजिक सञ्जालमा ह्याशट्याग जस्टिस फर निम्रिता ट्रेन्डमा छ ।
प्रहरीले यो हत्या हो कि आत्महत्या हो भनी जाँच गरिरहेको छ । तर जुन परिस्थितिमा निम्रिताको मृत्यु भयो, त्यसलाई हेरेर मानिसहरू यो हत्या नै भएको बताइरहेका छन् र निष्पक्ष जाँच तथा कारवाहीको माग गरिरहेका छन् ।
ट्विटरमा मानिसहरू यस विषयलाई जबर्जस्ती धर्मपरिवर्तन र अल्पसंख्यकमाथिको दमनका रूपमा हेरिरहेका छन् ।
सिन्धको घोटकी जिल्लामा बस्ने निम्रिता लरकानास्थित बीबी आसिफा डेन्टल कलेजमा फाइनल ईयरमा थिइन् । सोमवार उनको शव कलेजको होस्टलमा एउटा कोठामा खाटमा बाँधिएको अवस्थामा पाइएको छ । प्रहरीले उक्त कोठाबाट निम्रिताको मोबाइल र अन्य सामान नियन्त्रणमा लिएर फरेन्सिक जाँचका लागि पठाएको छ ।
निम्रिताको परिवारले उनको जघन्य हत्या भएको बताइरहेको छ । उनको शरीरमा भेटिएका घाउचोटको निशानबाट हत्या नै भएको उनीहरू बताउँछन् ।
उनका दाइ विशाल आफैं कराचीको एक मेडिकल कलेजमा चिकित्सक छन् । उनले बहिनीको जघन्य हत्या गरिएको बताए । उनले भने, ‘उसको शवमा धेरै ठाउँमा चोटको निशान छ । कसैले उसलाई पक्रेको जस्तो देखिन्थ्यो । हामीहरू अल्पसंख्यक हौं, कृपया हाम्रो सहायता गर्नुस् ।’
निम्रिताका काकाले उसको शवलाई चन्दका मेडिकल कलेज लगेकोमा प्रश्न उठाएका छन् । शवको पोस्टमोर्टम नगरेर किन अस्पतालको आईसीयूमा लगिएको हो भनी उनले प्रश्न गरे ।
प्रहरीले यस घटनामा आधिकारिक बयान दिएको छैन । यसको उजुरी समेत दर्ता गरिएको छैन ।
निम्रिताको मृत्युपछि सामाजिक सञ्जालमा आक्रोश देखिएको छ । पाकिस्तानमा अल्पसंख्यक हिन्दू, इसाइ, अहमदिया र सिखमाथि दमनका घटना सार्वजनिक भइरहेका हुन्छन् ।
एजेन्सी