
काठमाडौं – भारतको प्रधानमन्त्री बनेपछि नरेन्द्र मोदीले अनेकौं पुरस्कार पाइसकेका छन् । हालै उनलाई बिल यान्ड मेलिन्डा गेट्स फाउन्डेसनले ग्लोबल गोलकीपर अवार्ड दिने घोषणा गरेको छ ।
तर वकिल, मानवअधिकार अभियन्ता र समाजसेवीहरूले मोदीलाई पुरस्कार दिइने कुराको आलोचना गरेका छन् ।
फाउन्डेसनले सेप्टेम्बर २४ मा उक्त पुरस्कार मोदीलाई दिन लागेको हो ।
मोदीको स्वच्छ भारत अभियानलाई पुरस्कृत गर्न लागिएको हो ।
यस कार्यक्रममार्फत देशभरि लाखौं शौचालय निर्माण गरिएको र स्वच्छताका विषयमा मानिसहरूमा व्यापक जागरुकता आएको सरकारको दाबी छ ।
तर पुरस्कार दिइने कुराको विरोध गर्दै सन् १९७६ को नोबेल शान्ति पुरस्कार विजेता मेरिड मग्वायरले गेट्स फाउन्डेसनलाई पत्र लेख्दै भने, ‘बिल यान्ड मेलिन्डा गेट्स फाउन्डेसनले नरेन्द्र मोदीलाई पुरस्कार दिने कुरा सुनेर म छक्क परें । मोदीको शासनमा भारत खतरनाक र घातक अव्यवस्थातर्फ बढ्दैछ जसले गर्दा मानवअधिकार र लोकतन्त्र लगातार कमजोर भएको छ । फाउन्डेसनको घोषित मिसन जीवन संरक्षण गर्ने र असमानताविरुद्ध लड्ने भएकाले म विशेष चिन्तित छु ।’
भारतमा अल्पसंख्यक विशेषगरी मुसलमान, इसाइ र दलितहरूमाथि आक्रमण, असम र कश्मीरमा मानवअधिकार उल्लंघनको उल्लेख गर्दै फाउन्डेसनले मोदीलाई पुरस्कार दिइने विषयमा फेरि विचार गर्न आग्रह पत्रमा गरिएको छ ।
सम्मान घोषणाको समयको पनि आलोचना भइरहेको छ । असम र जम्मु–कश्मीरमा मोदी सरकारले विवादित निर्णय लिएको छ र त्यसको आलोचना भइरहेको छ ।
जम्मु–कश्मीरमा अगस्ट ५ पछि परिस्थिति सामान्य हुन सकेको छैन । कश्मीरमा अत्यावश्यक सेवा अहिले पनि रोकिएका छन् । कश्मीरमा भारत सरकारमाथि मानवअधिकार उल्लंघनको गम्भीर आरोप लागेको छ ।
मोदीलाई दिइएको यो पुरस्कार संसारभरि उनले पाएकोमध्ये सबभन्दा नयाँ हो ।
मंगलवार समाजसेवा गर्ने दक्षिण एसियाली मूलका अमेरिकीहरूको एक समूहले गेट्स फाउन्डेसनलाई खुला पत्र लेखेको छ ।
पत्रमा मानवअधिकार उल्लंघनको कुरा झिकेर मोदीलाई पुरस्कार दिइएको कुराको आलोचना गरिएको छ ।
एजेन्सी