
काठमाडौं – फिफाको पुरुष वर्षखेलाडी पुरस्कारमा गरिएको मतदानमा गडबडी भएको दाबी गरिएको छ ।
लियोनेल मेस्सीले मिलानमा सोमवार एक भव्य समारोहबीच उत्कृष्ट खेलाडीको पुरस्कार जिते । त्यसक्रममा उनले क्रिस्टियानो रोनाल्डो र भर्जिल भ्यान डाइकलाई हराए ।
भ्यान डाइकले लिभरपूलमा निकै राम्रो प्रदर्शन गर्दै क्लबलाई च्याम्पियन्स लीग जिताएका थिए । रोनाल्डोले युभेन्टसमा निकै राम्रो प्रदर्शन गरेका थिए अनि पोर्चुगललाई नेसन्स लीग जिताएका थिए । यस्तो उपलब्धिका अगाडि मेस्सीको ला लिगा विजय मात्रले फिफाको अवार्ड जिताएकोमा धेरैजना छक्क परेका थिए ।
अहिले आएर मतदानकै वैधतामा प्रश्न उठाइएपछि मेस्सीको पुरस्कार नै विवादमा परेको छ ।
इजिप्टको फूटबल एसोसिएसन, सुडानका प्रशिक्षक द्राभ्को लोगारुसिच अनि निकारागुआका कप्तान हुआन बारेराले मतदानको आधिकारिकताका विषयमा प्रश्न उठाएका छन् । उनीहरूले नगनिएका वा गलत ठाउँमा पारिएका मतको कुरा झिकेका छन् ।
इजिप्टको फूटबल एसोसिएसनले फिफालाई किन आफ्नो राष्ट्रिय प्रशिक्षक शौकी गरीब र कप्तान अहमदको भोट गन्ती नगरिएको भनी स्पष्ट बनाउन आग्रह गरेको छ ।
गरीब र एल–मोहम्मदीको नाम फिफाको आधिकारिक मतदाता नामावलीमा परेको छैन ।
इजिप्टको फूटबल महासंघले इजिप्टको भोट अगस्ट १५ मा फिफालाई पठाएको दाबी गरेको छ । त्यो भनेको अन्तिम समयभन्दा चार दिनअघि हो ।
इजिप्टको भोट किन स्वीकार नगरिएको भनी फिफालाई प्रश्न गरिएको छ र इजिप्ट फूटबल एसोसिएसनले यसको अनुसन्धान गर्ने पुष्टि गरेको छ ।
सुडानका प्रशिक्षक लुगारिसिच र निकारागुआका हुआन बारेराले आफूले दिएको वास्तविक भोट प्रकाशित नगरेको भनी सामाजिक सञ्जालमा लेखेका छन् ।
लुगारिसिचले आफ्नो पहिलो छनोट मोहम्मद सालाह भएको तर फिफाको दस्तावेजमा मेस्सीलाई पहिलो छनोट देखाएको बताए ।
बारेराले पनि फिफाको दाबीविपरीत मेस्सीलाई भोट नदिएको बताए ।
‘मैले मेस्सीलाई भोट दिएकै थिइनँ । मेस्सीलाई भोट दिने कप्तानहरूको सूचीमा पर्दा म आश्चर्यचकित भएँ,’ बारेराले भने ।
फिफाले सबै देशका राष्ट्रिय टोलीका प्रशिक्षक, कप्तान र पत्रकारले दिएको मतका आधारमा सर्वोत्कृष्ट खेलाडी छान्ने गरेको छ ।
ती मतहरू पारदर्शिताका लागि सार्वजनिक गरिन्छन् । तर अहिलेको आरोपपछि भोटिङ सिस्टममा गम्भीर आशंका उठेको छ ।