
काठमाडौं– गृहमन्त्री रामबहादुर थापा 'बादल'ले नौबीसे-कलंकी सडक खण्डमा भैरहेको सवारी जाम हटाउन आवश्यक व्यवस्था मिलाउन निर्देशन दिएका छन् ।
ट्राफिक जाम अत्यधिक बढेको जनगुनासो आएपछि उनले तत्काल जनताले महसूस गर्ने गरी जाम हटाउन प्रहरी र सम्बद्ध सरकारी अधिकारीहरूलाई निर्देशन दिएका हुन् ।
काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, महानगरीय प्रहरी कार्यालयका प्रमुख डीआईजी शैलेश थापा क्षेत्री, महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख भीम ढकाललाई मन्त्रालयमा बोलाएर जाम हटाउन आवश्यक पहलकदमी लिन निर्देशन दिएका हुन् ।
मन्त्री थापाले जाम भएका क्षेत्रमा ट्राफिक प्रहरीको जनशक्ति बढाउन, व्यस्त समयमा ठूला सवारी साधनको आवागमनमा रोक लगाउन, बिग्रिएका सवारीसाधन हटाउन आवश्यक क्रेनको व्यवस्था मिलाउन पनि निर्देशन दिए ।
जाममा परेका बिमारीहरूको आवश्यकता अनुसार उद्धारका सबै उपाय अपनाउन समेत उनले निर्देशन दिएका छन् ।
चाडपर्वको मौका छोपी हुनसक्ने कालोबजारी तथा टिकट वितरणमा समेत केही जनगुनासो आएको भन्दै उनले निगरानी र कारबाही बढाउन निर्देशन दिए ।
बैठकमा सरकारी अधिकारीहरूले बिहीवारको तुलनामा शुक्रवार जाम केही कम भएको जानकारी दिँदै सहजताका लागि पहल भइरहेको जानकारी दिएका थिए ।
गृहमन्त्रालयले धादिङका सम्बन्धित सरकारी अधिकारीहरूलाई समेत जाम खुलाउन आवश्यक पहल गर्न शुक्रवार नै निर्देशन दिएको छ ।