२९ असार २०८३, सोमबार

कृषि विकास बैंक ह्याक प्रकरणमा थप ३ आरोपी पक्राउ

कृषि विकास बैंक ह्याक प्रकरणमा थप ३ आरोपी पक्राउ

काठमाडौं – कृषि विकास बैंक र पानस रेमिटको सफ्वेयर ह्याक गरेर पैसा निकालिएको घटनामा संलग्न रहेको आरोपमा प्रहरीले थप ३ जनालाई शुक्रवार पक्राउ गरेको छ ।

महानगरीय अपराध नियन्त्रण महाशाखाका अनुसार कञ्चनपुरबाट यज्ञराज भट्ट, पर्वतबाट मालतीदेवी न्यौपाने र काठमाडौंबाट गणेशप्रसाद बस्याललाई पक्राउ गरिएको हो । 

बैंकबाट भट्टको खातामा ४५ लाख रुपैयाँ र न्यौपानेको खातामा २८ लाख रुपैयाँ हालेको फेला परेपछि अनुसन्धानका लागि उनीहरूलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ । 

बिहीवार पक्राउ परेका प्रतीक्षा निर्माण सेवाका प्रोपाइटर रामकृष्ण भुसालको बयानका आधारमा बस्याललाई पक्राउ गरिएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक केदार ढकालले जानकारी दिए । भुसालको बैंक खातामा ६५ लाख रुपैयाँ जम्मा भएको पाइएको प्रहरीले जनाएको छ । 

महाशाखाको टोलीले पानस रेमिट र कृषि विकास बैंकको सफ्टवेयर ह्याक गरेर पैसा निकाल्ने कार्यमा संलग्न रहेको १२ जनालाई आइतवार पक्राउ गरी अनुसन्धान गरिरहेको छ । प्रहरीका अनुसार उनीहरूले कृषि विकास बैंकबाट सफ्टवेयर ह्याक गरी ४ करोड ७३ लाख ९६ हजार विभिन्न व्यक्तिको नाममा पैसा पठाएको तथा पानस रेमिट नयाँ बानेश्वरबाट १२ लाख रुपैयाँ निकालेका थिए । १० लाख रुपैयाँ हुण्डीमार्फत विदेशी ह्याकरलाई पैसा पठाए पनि अन्य पैसा पठाउन भ्याएका थिएनन् । 

प्रहरीले ६० लाख रुपैयाँ बरामद गरिसकेको छ । यसका मुख्य योजनाकार अफ्रिकी मूलका पिटर रहेको र उनले भारतमा बसेर योजना बनाई नेपाली एजेण्टलाई प्रयोग गरेका खुल्न आएको महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्